सीआईबीले बुझायो सुनको अनुसन्धान प्रतिवेदन

लोकप्रिय

काठमाडौँ, भदौ २७ गते ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले झन्डै ६० किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ ।

सीआईबीले रेडी ट्रेडमार्फत तस्करी भएको सुनमा ५० जनालाई प्रतिवादी बनाएको छ र ३ सय ६० किलो ७ सय ७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ विगो कायम गरेको छ ।

सिआइबीका अनुसार घटनामा तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ र चिनियाँ नागरिक याओ पुचेङलाई मुख्य अभियुक्त बनाइएको छ । त्यस्तै, मुख्य बिचौलियाका रूपमा रहेका चिनियाँ नागरिक टियान मी, वेन तोङ, डिङ सेग्फा, ली नेङकाई, ली वेन सुङ, किशोर बस्नेत, सुमन खरेललाई खास अभियुक्त बनाइएको छ ।

दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक भएको प्रहरीले जनाएको छ । उक्त प्रकरणमा आरोपीहरुमाथि हालसम्म भन्सार ऐन, सङ्गठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएको सिआइबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

सिआइबीको बुधबार आयोजित पत्रकार सम्मेलनमा घटनामा अहिलेसम्म ३२ जना पक्राउ परेको जानकारी गराएको हो । त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी रहेकामा १८ जना फरार रहेको सिआइबीले जानकारी दिएको छ ।

उक्त प्रकरणमा प्रत्यक्षरुपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको सिआइबीले जनाएको छ । सिआइबी प्रमुख बज्राचार्यले प्राविधिक पाटोसहितलाई हेरेर अझै वैज्ञानिक बनाउने काम गरिएको बताउनुभयो ।

अहिले सिआईबीले विशेषज्ञ टोलीलाई समेत राखेर वैज्ञानिक तरिकाले अनुसन्धान गरिरहेको जानकारी दिएको छ । विभिन्न सातवटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको तर बाँकी अनुसन्धान जारी रहने सिआईबीले जानकारी दिएको छ ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीलाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेकोे थियो । उक्त सुन अहिले राष्ट्र बैंकको संरक्षणमा रहेको छ ।

ताजा समाचार

Related Articles