हेटौँडाका घरजग्गा धनीलाई मुआब्जा दिएर मात्र सडक चौडा गर्न ११ दलको सरकारसँग माग

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर १४ गते । सडक डिभिजन हेटौँडाले हेटौँडा बजार क्षेत्रमा सडक चौडा गर्ने सूचना जारी गरेसँगै उक्त विषय पेचिलो बन्दै आएको छ ।
घरजग्गा धनीले मुआब्जा र क्षतिपूर्तिको मागसँगै व्यवसायीको उचित व्यवस्थापन गर्न माग गर्दै आएका छन् ।
संसदमा प्रतिनिधित्व गरेका ठुला दलहरु यस सन्दर्भमा मौन रहँदा अन्य ११ वटा दलले घरजग्गा धनीले मुआब्जा पाउनुपर्ने जनाएका छन् ।

दलहरुले आइतबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै सडक सिमाभित्र पर्ने घरजग्गाको वास्तविकपीडितलाई मुआब्जाको व्यवस्था गर्न भनिएको छ ।
ध्यानाकर्षण पत्र भनिएको छ, सडक क्षेत्रभित्र पर्ने घरजग्गाको अनुसन्धान गरी मुआब्जा दिन बाँकी घरानालाई मुआब्जाको पनि व्यवस्था गराउनु हुन माग गर्दछौं । सडक डिभिजन हेटौँडाले हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटेदेखि सामरी पुलसम्म र बुद्धचोकदेखि राप्ती पुलसम्म सडकको केन्द्र भागबाट दायाँबायाँ २५/२५ गज १५ दिने सूचना जारी गरेको छ ।
दलहरुले मुआब्जा दिएर यथाशीघ्र सडक विस्तार अभियान कार्यान्वयन गर्न भनेका छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरसँगै हेटौँडा उपमहानगरपालिका र सडक डिभिजन हेटौँडालाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाइएको हो ।

ध्यानाकर्षणपत्रमार्फत नगरभित्र पर्ने सार्वजनिक जमिनको सिमांकन गरी संरक्षण गर्न, नगरभित्र रहेका वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्न, जनजीवन र प्राकृतिक सौन्दर्य मासिने गरी गरिरहेका अवैधानिक उत्खनन् बन्द गर्न, मापदण्ड विपरीत गिट्टी बालुवा संकलनका लागि गरिएको उत्खनन् बन्द गर्न, लागुऔषध ओसारपसार तथा बिक्रीवितरणमा पूर्ण रुपमा रोक लगाउनु माग गरिएको छ ।

ध्यानाकषणपत्रमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरका सेक्रेटरी पेमा सी, कान्तिकारी कम्युनिस्ट पार्टी मकवानपुरका सेक्रेटरी सद्दाम हुसेन, नेकपा बहुमत मकवानपुरका प्रेम तितुङ, नेकपा क्रान्तिकारी केन्द्र मकवानपुरका संयोजक विक्रम मगर, नेकपा माले मकवानपुरका सहसचिव हरिकृष्ण अधिकारी र नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका अध्यक्ष माननाथ तिमिल्सिनाले हस्ताक्षर गर्नुभएको छ । यस्तै उज्यालो नेपाल पार्टी मकवानपुरका विकास वाइबा, श्रम संस्कृति पार्टी मकवानपुरका संयोजक युनेश लामा, जनता समाजवादी पार्टी नेपाल मकवानपुरका अध्यक्ष उत्तम गोम्जा, राष्ट्रिय जनमोर्चा मकवानपुरका संयोजक ओविन्द्र बहादुर लुइटेल र जनता समाजवादी पार्टी मकवानपुरका जिल्ला अध्यक्ष दीपक सिन्तानद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्र बुझाइएको छ ।

ताजा समाचार

Related Articles