उपत्यकाका अधिकांश अस्पतालमा जनशक्तिको अभाव

लोकप्रिय

काठमाडौँ, भदौ २८ गते ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतका अनुसार सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारी सहितको टोलीले अनुगमन गरेको हो ।

सरकारी अस्पताल व्यवस्थित गर्नका लागि मन्त्रालयले अनुगमन गरेको मन्त्री बस्नेत बताउनुभयो । उपत्यकाका वीर अस्पताल, कान्तिबाल अस्पताल, शहीद गङ्गालाल हृदय केन्द्र, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भक्तपुर क्यान्सर अस्पताल र मानसिक अस्पताल पाटनमा अनुगमन गरेको मन्त्री बस्नेतले जानकारी दिनुभयो । 

अनुगमन टोलीले अस्पतालको जिन्सी अभिलेख व्यवस्थापन, औषधि उपकरणको अभिलेख, खरिद योजना तथा एक वर्षभित्रको खरिदको अभिलेख, औषधि मौज्दात विवरण, आपूर्ति व्यवस्थापन, औषधि तथा उपकरणको अद्यावधिक विवरणको अनुगमन गरेको थियो ।  

अनुगमनका क्रममा अधिकांश अस्पतालमा जनशक्तिको अभाव रहेको पाइएको थियो । सबै अस्पतालमा मौज्दात स्वास्थ्य सामाग्रीको लिपिबद्ध नगरेको, खरिद योजना नगरेको, औषधि भण्डारणको व्यवस्थापन नभएको पाइएको थियो । चालु आर्थिक वर्षको योजना नभएको, कति औषधि तथा उपकरण खरिद गरेको र कति बाँकी छ भन्ने यकिन नभएको पाइएको थियो ।

गङ्गालाल अस्पतालमा मौज्दात औषधि नभएको अनुगमले देखाएको छ । त्यसैगरी,अस्पतालले फोहोरमैला व्यवस्थापन राम्रो नभएको, खरिदको योजना नभएको, महामारी सङ्क्रामक रोग सम्बन्धी अस्पताल भएपनि आकस्मिक रूपमा महामारी फैलँदा त्यसको व्यवस्थापन गर्ने तयारी नभएको अनुगमनमा पाइएको थियो ।

वीर अस्पतालको उपचार सेवामा सुधार देखिएको, बिरामीको सङ्ख्या बढेको, शय्या सङ्ख्या बढेको पाइए पनि त्यहाँको मेडिकल स्टोर, जनरल स्टोर, फार्मेसी अस्तव्यस्त पाइएको छ । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले मेडिकल स्टोर र फार्मेसी अस्तव्यस्त भएको स्विकार्दै बजेट अभावले मेडिकल स्टोरमा चाहिएको समान किन्न नसकिएको र फार्मेसीमा जनशक्ति अभावले व्यवस्थित हुन नसेकेको बताउनुभएको थियो । डा.पौडेलले बजेट अभाव पूर्ति गर्नका लागि ४१ करोड रुपियाँ थप बजेट अर्थ मन्त्रालयसँग माग गरिएको जानकारी दिनुभयो ।

मेडिकल स्टोर र जनरल स्टोरमा रहेका समानको रेकर्ड नियमपूर्वक राखिएको नपाएको अनुगमन टोलीका संयोजक एवं स्वास्थ्य मन्त्रालयका उपसचिव कृष्ण थापाले बताउनुभयो ।

सातवटै अनुगमन टोलीले आफूहरूले अनुगमनका क्रममा देखेका समस्याका विषयमा स्वास्थ्य मन्त्री बस्नेतलाई रिपोर्ट गरेका थिए । अनुगमन टोलीको अध्ययन प्रतिवेदन सुनिसकेपछि मन्त्री बस्नेतले सात वटा केन्द्रीय अस्पतालहरूलाई कमी कमजोरी सुधार गर्न निर्देशन सहितको पत्र तयार पारेर सबै अस्पताललाई पठाउन र तोकिएको समय सीमाभित्र पनि सुधार नगरे कडा कारबाही गरिने बताउनु भएको थियो ।

ताजा समाचार

Related Articles