समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीको राजीनामा स्वीकृत

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस १६ गते । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीहरुको राजीनामा स्वीकृत गरेको छ ।
प्रदेश सरकारको बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौँडामा बसेको मन्त्रीपरिषद्को बैठकले समितिका तीन जना पदाधिकारीहरुको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
समितिका अध्यक्ष प्रभात अधिकारी तथा सदस्यद्वय यतिराज सापकोटा र यज्ञराज दाहालले यसअघि पदबाट दिनुभएको राजीनामा स्वीकृत गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।
बैठकले चालु आर्थिक वर्ष २०८२/०८३ को सवारी साधनको करका दस्तुर र जरिवानामा छुट दिने निर्णय गरेको छ ।
उहाँका अनुसार मन्त्रीपरिषद् बैठकले दुई वटा गठन आदेश स्वीकृत गरेको छ ।
नमोबुद्ध क्षेत्र विकास समिति गठन आदेश र त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति गठन आदेश स्वीकृत गर्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको उहाँले बताउनुभयो ।
बैठकले प्रदेश विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्त सञ्चार सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि संशोधन गर्ने र सङ्घीय सरकारबाट काजमा बागमती प्रदेशमा आएका राजपत्राङ्कित प्रथम श्रेणीका दुई जनालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिवमा पदस्थापन गर्ने निर्णय बैठकले गरेको मन्त्री तामाङले बताउनुभयो ।
यस्तै बैठकले रामेछापको सुनापाती गाउँपालिका वडा नम्बर ४ लाई वडा विभाजन गर्ने प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।

ताजा समाचार

Related Articles