खासकुरा संवाददाता
हेटौँडा, फागुन ५ गते । मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसले कानुन निर्माणसँगै सडकलगायतका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ ।
बकैया गाउँपालिकाको वडा नम्बर १ स्थित महादेवडाँडा निर्वाचन सम्पर्क कार्यालयको मङ्गलबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले बकैया गाउँपालिकाको वडा नम्बर १ र २ (साविकको धियाल गाविस) आर्थिक सामाजिक विकासका दृष्टिले पछाडि परेको भन्दै विकासका लागि बागमती प्रदेश र मधेश प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने बताउनुभयो ।
कांग्रेसका निवर्तमान सहमहामन्त्री समेत रहनुभएका डिनाले धियाल हुँदै मकवानपुरको बकैया गाउँपालिका र मधेश प्रदेश जोड्ने कालोपत्रे सडक आवश्यक भएको भन्दै पछाडि परेका क्षेत्रको विकासका लागि स्थानीय बासिन्दासँग समन्वय गरेर योजना बनाइने बताउनुभयो ।
कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले लोकतन्त्र र संविधानलाई सही बाटोमा लैजान निर्वाचन आवश्यक भएको भन्दै धियाल क्षेत्रको विकासका लागि स्थानीय बासिन्दाको माग अनुसारका योजनालाई प्राथमिकतामा पारिने बताउनुभयो ।

कांग्रेस बकैया गाउँपालिका वडा नम्बर १ वडा समितिका सभापति बुद्ध बरामको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य धनलाल थोक्कर, कांग्रेस निर्वाचन क्षेत्र नम्बर १ का सङ्घीय सभापति दामोदर खनाल, बकैया १ का पूर्व वडाध्यक्ष बुद्धिमान वाइवा, पूर्व वडा सदस्य प्रेम फुयाललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा कांग्रेसका प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फका उम्मेदवार पवित्रा विक, मधेश प्रदेशका कांग्रेसका प्रवक्ता सूर्य यादव, प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठ, कांग्रेस क्षेत्र नम्बर १ का सङ्घीय सचिव शंकरप्रसाद पराजुली, क्षेत्र नम्बर १ (क) का सभापति सुशान्त श्रेष्ठ, जिल्ला प्रतिनिधि अनिल विक, बकैया गाउँ समिति सभापति दिलबहादुर बोम्जनलगायतको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा बकैया गाउँपालिका १ का पूर्व वडा सदस्य प्रेमबहादुर फुयाललगायत ३० जनाभन्दा बढी विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए ।




