नारायणगढ, चैत १६ गते । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नजिकैको एक लोकल कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो ।

पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार देशको पूर्वी क्षेत्रमा देखिएको बर्डफ्लु हाल चितवनमा पनि पुष्टि भएको छ । उहाँले यस रोगले व्यावसायिक रूपमा पालिएका कुखुरामा प्रभाव पारेको र अन्य चराचुरुङ्गीमा समेत सङ्क्रमण फैलन सक्ने बताउनुभयो ।

उहाँका अनुसार भाइरसजन्य रोग भएकाले यसको नियन्त्रणका लागि जैविक सुरक्षा अपनाउनु अत्यन्त आवश्यक छ । घरमा वा व्यावसायिक रूपमा पालिएका हाँस तथा कुखुराको नियमित स्वास्थ्य परीक्षण, फार्मको सरसफाइ तथा आवतजावत नियन्त्रणमा विशेष ध्यान दिन किसानलाई उहाँले आग्रह गर्नुभयो ।

बर्डफ्लु देखिएको स्थानमा सङ्क्रमण नियन्त्रणका लागि करिब १८ हजार लेयर्स कुखुरा नष्ट गरिएको छ भने नजिकैको अर्को फार्ममा करिब ९०० लोकल कुखुरा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितवनमा २०७८ सालपछि बर्डफ्लु यस वर्ष पहिलोपटक देखिएको हो र हालसम्म अन्यत्र फैलिएको छैन ।” अघिल्लो पटक २०७८ सालमा बर्डफ्लु फैलँदा जिल्लामा करिब आठ लाख कुखुरा नष्ट गरिएको थियो ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार हालसम्म अन्य स्थानमा बर्डफ्लु पुष्टि नभए पनि जिल्लामा जोखिम भने कायम छ । उहाँले रोग विभिन्न माध्यमबाट सजिलै सर्न सक्ने भएकाले यसको न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो ।




