आकर्षक गन्तव्य बन्दै बाँके राष्ट्रिय निकुञ्ज

लोकप्रिय

नेपालगञ्ज असोज ७ गते । बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको सङ्ख्या बढ्दै गएको छ । दुर्लभ पाटेबाघको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समय पर्यटकहरूको सङ्ख्या बढ्न थालेको हो । निकुञ्ज पर्यटकहरूको आकर्षक गन्तव्य बन्दै गएको हो ।

निकुञ्ज स्थापना भएको १३ बर्षमै पाटेबाघको सङ्ख्या उल्लेख्य रूपमा बढेकाले बाघ अवलोकन गर्नका लागि पर्यटक आउने क्रम पनि बढेको निकुञ्ज प्रमुख श्यामकुमार साहले बताउनुभयो । बाँके राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु पाटेबाघ अवलोकनको गन्तव्यका रूपमा स्थापित हुँदै गएको साहको भनाई छ ।

पश्चिम नेपालको प्रमुख सहर नेपालगञ्जबाट करिब ३३ किलोमिटरको दुरी पर्ने यो निकुञ्जमा  सडक तथा हवाई यातायातको सहज पहुँच र एक दर्जन भन्दा बढी तारे होटलको सुविधा भएका कारण पर्यटकको सङ्ख्या बढ्दै गएको छ । निकुञ्ज क्षेत्रमा तीन सय प्रजातिका चरा, ३४ प्रजातिका स्तनधारी जनावर र २४ प्रकारका घस्रिएर हिँड्ने जनावर छन् ।

निकुञ्ज प्रमुख साहले बाँके निकुञ्जले बुच्चापुर र खड्गवारमा हात्तीसार स्थापना गरेर ६ वटा घरपालुवा हात्तीबाट पर्यटकलाई जङ्गल क्षेत्र घुमाउने र दुर्लभ वन्यजन्तु पाटेबाघको अवलोकन गराउन थालेको बताउनुभयो । उहाँले निकुञ्ज क्षेत्रमा पैदल भ्रमण गर्न चाहने पर्यटकका लागि १०९ किलोमिटर वनपथ निर्माण गरिएको समेत बताउनुभयो ।

निकुञ्ज घुम्न आउनेले वन्यजन्तु, प्राकृतिक सौन्दर्यका साथै स्थानीय संस्कृति हेर्न, विभिन्न परिकारको स्वाद लिन, हात्ती र जीप सफारी तथा र्‍याफ्टिङ गर्न सक्ने भएपछि पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।  

बाँके राष्ट्रिय निकुञ्ज २०६७ सालमा स्थापना भएको मुलुककै सबैभन्दा कान्छो निकुञ्ज हो ।

ताजा समाचार

Related Articles