अर्थतन्त्र बलियो बनाउन लगानीमैत्री वातावरण आवश्यक: परिसङ्घ अध्यक्ष पाण्डे

लोकप्रिय


हेटौँडा, चैत २६ गते । नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्र बलियो बनाउन लगानीमैत्री वातावरण आवश्यक हुने बताउनुभएको छ ।
उहाँले तीनै तहको सरकारले लगानीको सुरक्षासँगै वातावरण बनाएर उद्योगीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
उद्योग सङ्घ मकवानपुरको २४ औँ साधारण सभा तथा १८ औँ अधिवेशनको बिहीबार हेटौँडामा उद्घाटन गर्दै उहाँले स्वदेशी उत्पादनको प्रयोगलले रोजगारी सिर्जनामासमेत सहयोग पुग्ने बताउनुभयो ।

उहाँले अर्थतन्त्रलाई अगाडि बढाउन स्वदेशी उत्पादनको प्रयोगलाई बढावा दिने नीति लिन सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, नेपाल सरकारले सार्वजनिक निकायमा स्वदेशी बस्तुको प्रयोग अनिवार्य गर्ने निर्णय गरेको छ, अब यसको पूर्ण कार्यान्वय आवश्यक छ ।
स्वदेशी बस्तुहरुको अधिकतम प्रयोगलाई प्रोत्साहन गर्ने नीतिले अर्थतन्त्र बलियो बनाउँछ अध्यक्ष पाण्डेले भन्नुभयो, परिसङ्घले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्छ, देशलाई औद्योगिकीकरणमा लैजानु पर्छ भन्ने उद्देश्यले मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन गर्दै आएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले हेटौँडा औद्योगिक क्षेत्रको नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।
उद्योग सङ्घका अध्यक्ष बद्रिनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग परिसङ्घ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष दिवस न्यौपाने, आन्तरिक राजस्व कार्यालय हेटौँडाका प्रमुख युक्तप्रसाद सुवेदी, उद्योग सङ्घका पूर्व अध्यक्षद्वय माधव अधिकारी र नवराज अर्याल, मकवानपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष उज्ज्वल चौलागाई,  उद्योगी जीवन लामालगायतले आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभयो थियो ।
कार्यक्रममा सञ्चारकर्मी भावना रिजाललाई पत्रकारिता पुरस्कारसहित सम्मान गरिएको थियो ।

ताजा समाचार

Related Articles