काठमाडौँ, वैशाख २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले जनतालाई न्याय गर्ने मनसायले सरकारले अध्यादेश ल्याउनु परेको तर्क गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले जनतालाई न्याय गर्ने उद्देश्यले आठ वटा अध्यादेश ल्याएको र यसमा विपक्षी दलहरूले रोइलो गर्नुपर्ने कारण नभएको टिप्पणी गर्नभयो ।

विगतको ३७ वर्षमा थिलथिलो बनाएको नेपालका सबै संरचना र सेवा प्रवाहबाट दलीयकरण अन्त्य गर्न आवश्यक रहेको बताउँदै नेता पराजुलीले विगतमा दलहरूले आफ्ना कार्यकर्ता र बिचौलियामार्फत जनतालाई शोषण दमन गरेको आरोप लगाउनुभयो । “हुन त यी विषयमा म आज धेरै चर्चा गर्न चाहन्न तर ती नेपाली जनतालाई न्याय दिनुको सट्टामा तपाईँहरूले केसम्म गर्न भ्याउनुभयो भनेर म यस सम्मानित सदनबाट स्मरण गराउन चाहन्न, आज उहाँहरूलाई न्याय दिनु छ,” नेता पराजुलीले विपक्षी दलहरूप्रति लक्षित गर्दै भन्नुभयो ।

वन ऐन र खरिद ऐनमा भएका कतिपय प्रावधानका कारण विकासलाई अगाडि बढाउन नसकिएको उल्लेख गर्दै उहाँले त्यसमा संशोधन र सुधार गर्न सरकारले अध्यादेश ल्याउनु परेको स्पष्ट पार्नुभयो ।




