खासकुरा संवाददाता
हेटौँडा, जेठ ११ गते । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले वडास्थित विद्यालयहरूसँगको सहकार्यमा २० जना विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेभएको छ । ४ नं. वडा कार्यालय र भुटनदेवी मावि तथा आधुनिक राष्ट्रिय मावि, हेटौँडा ४ बीच शैक्षिक सत्र २०८३ देखि लागू हुने गरी यस्तो प्रतिबद्वतासहितको सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देल, वडा सचिव रामप्रसाद गुरागाईँ, भुटनदेवी माविका प्रधानाध्पक सूर्यप्रसाद घिमीरे र आधुनिक राष्ट्रिय माविका प्रअ रामसागर गुरागाईँले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता पत्रमा छात्रवृत्तिको मापदण्डमा अति विपन्न, दलित, सिमान्तकृत, द्वन्द्वपीडीत, भूमीहिन, अभिभावकविहीन, सडक बालबालिका, साथै विशेष प्राथमिकताकाक्षेत्र जस्तै विद्यालयले सञ्चालन गर्ने खेलकुद, अतिरिक्त क्रियाकलापमा उत्कृष्ठता हासिल गर्ने छात्र/छात्रा उल्लेख गरिएको छ ।

दुवै विद्यालयमा १०/१०जना कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छ महिनाको मासिक शुल्क र भर्ना शुल्क वडा कार्यालयबाट दिने र विद्यालयले छ महिनाको मासिक शुल्क छुट दिने सम्झौतापत्रमा उल्लेख छ ।
यसै शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने र आगमी शैक्षिक सत्रको शुरूवातसँगै सम्झौता नवीकरण हुने जनाइएको छ ।
आर्थिक अभाव कारणले विद्यार्थी पढाईबाट बञ्चित हुने अवस्था अन्त्य गर्न छात्रवृत्तिको व्यवस्था गरिएको ४ नं. वडाध्यक्ष सिग्देलले बताउनुभयो ।




