मानव अधिकार मानवको जन्मसिद्ध अधिकार हो: प्रदेश प्रमुख देवकोटा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १३ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानवअधिकार प्रत्येक मानवको जन्मसिद्ध अधिकार भएको बताउनुभएको छ ।
आयोगको २६ औं स्थापना दिवसको अवसरमा बुधबार हेटौँडामा आयोजित कार्यक्रममा उहाँले मानव अधिकार आयोग केवल एउटा संवैधानिक निकाय होइन, यो नागरिकको आशा र न्यायप्रतिको विश्वासको प्रतीक भएको बताउनुभयो ।
उहाँले मानव अधिकार आयोग हामी मानवताको सम्मान, न्यायको आवाज र नागरिकको गरिमाको पर्यायवाची संस्था भएको चर्चा गर्दै आयोगले विगत २६ वर्षदेखि यही पीडाको आवाज सुन्ने, अन्यायको विरुद्ध उभिने र मानवताको पक्षमा दृढतापूर्वक बोल्ने ऐतिहासिक जिम्मेवारी निर्वाह गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, जब कुनै व्यक्ति शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरूबाट वञ्चित हुन्छ, कुनै महिला हिंसाको शिकार हुन्छिन्, कुनै नागरिक अन्यायमा पर्छ, कुनै व्यक्ति फरक पृष्ठभुमि भएकै कारणले बिभेदको सिकार हुन्छ ः त्यतिबेला केवल एउटा व्यक्ति पीडित हुँदैन– पूरै राष्ट्रको आत्मा आहत हुन्छ ।
उहाँले आज विश्व तीव्र परिवर्तनको यात्रामा रहेको भन्दै प्रविधि बढिरहेको छ, विकास तीव्र छ, तर मानव संवेदनशीलता कमजोर हँदै गएको चुनौती पनि हामीसामु रहेको प्रष्ट पार्नुभयो ।
मानव मस्तिष्क झन् ठूलो हुँदै घैंटो जत्रै र मानव मुटु खुम्चिएर बदामजत्रो हुँदैछ अर्थात् मानवबाट मानवीय सम्बेदना लोप हुँदैछ प्रदेश प्रमुख देवकोटाले भन्नुभयो, सामाजिक संजाल र ए आइको प्रयोग बढेसगै मानव अधिकार हननका रूप फेरिने र दायरा बढ्ने जोखिम उत्तिकै रहन्छ । यस्तो अवस्थामा मानव अधिकारको रक्षा गर्नु भनेको केवल कानुन पालन गर्नु होइन, मानवता जोगाउनु हो ।

उहाँले अगाडि भन्नुभयो शक्तिशाली राष्ट्र भवनले होइन, मानवताको सम्मानले बन्छ । समृद्ध समाज भौतिक पूर्बाधारले होइन, न्यायले चिनिन्छ । सभ्य देश त्यो हो, जहाँ सबैभन्दा कमजोर नागरिकले पनि आफू सुरक्षित महसुस गर्छ ।
उहाँले मानव अधिकारसम्बन्धी सचेतना वृद्धि आवश्यक भएको बताउनुभयो ।

 

ताजा समाचार

Related Articles