हेटौँडा, जेठ १५ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शासन प्रणालीमा आम नागरिकको सहज पहुँच र राज्यबाट प्राप्त हुने प्रतिफलको समन्यायिक वितरणले गणतन्त्रलाई थप संस्थागत र सुदृढ बनाउने बताउनुभएको छ । शुक्रबार १९ औँ गणतन्त्र दिवसका अवसरमा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत मुलुकको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको स्पष्ट पार्नुभयो ।

प्रदेश प्रमुख देवकोटाले ऐतिहासिक दिवसले आपसी सद्भाव, भ्रातृत्व र एकताको सूत्रमा बाँध्ने थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “विभिन्न कालखण्डका ऐतिहासिक जनआन्दोलन र त्यागको जगमा मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा आज हामी १९ औँ गणतन्त्र दिवस मनाइरहेका छौँ । यस गौरवपूर्ण अवसरमा बागमती प्रदेश, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,” उहाँले भन्नुभयो ।

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै परिवर्तनका आन्दोलनमा सहभागी भई घाइते तथा बेपत्ता भएकाहरूको योगदानको स्मरण गर्दै उच्च आदरभाव प्रकट गर्नुभएको छ ।




