अबको मुख्य लक्ष्य सुशासन र समृद्धि हासिल गर्नु हो

लोकप्रिय

हेटौँडा, जेठ १५ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभएको छ । शुक्रबार १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना दिँदै उहाँले सामाजिक सद्भाव कायम राख्दै राष्ट्रियता, लोकतन्त्र र सङ्घीयताको सबलीकरणमा साझा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको हो ।

उहाँले संविधानद्वारा संरक्षित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था क्रमशः संस्थागत हुँदै गएको उल्लेख गर्दै विभेद, उत्पीडन र असमानताको अन्त्य गरी नागरिकले गर्व गर्न सक्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो । मुख्यमन्त्री बानियाँले राजनीतिक अधिकार प्राप्तिपछि अबको मुख्य लक्ष्य सुशासन, दिगो विकास र समृद्धि हासिल गर्नु रहेको बताउनुभयो ।

प्रदेश सरकारले न्यायमुखी, जनतामुखी र सेवामुखी शासन व्यवस्थालाई आत्मसात् गर्दै नागरिकको दैनिक जीवनमा गुणात्मक परिवर्तन ल्याउने कार्यलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ । उहाँले सेवा–सुविधा गरिबमुखी, न्यायमुखी, आयमुखी तथा विकासमुखी सिद्धान्तमा आधारित हुनुपर्ने धारणा राख्दै प्रदेश सरकार समावेशी तथा समानुपातिक विकासप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । साथै संविधानले सुनिश्चित गरेका मौलिक हक कार्यान्वयन गर्दै तीन तहका सरकारबिच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि प्रदेश सरकार प्रयासरत रहेको उल्लेख गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नेपाली जनताको दशकौँ लामो सङ्घर्ष, जनआन्दोलन र बलिदानको उपलब्धि भएको उल्लेख गर्दै ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै आन्दोलनका क्रममा बेपत्ता, घाइते तथा अपाङ्ग भएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना दिनुभएको छ ।

ताजा समाचार

Related Articles