हेटौँडा–काठमाडौँ सडक एक महिना बन्द

लोकप्रिय

मकवानपुर, जेठ १५ गते । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको फर्पिङ–हुमाने–फाखेल–कुलेखानी सडक एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडकको इन्द्रसरोवर गाउँपालिका–२ मा सडक ढलान गर्ने कार्य सुरु भएकाले शुक्रबारदेखि एक महिनाका लागि सवारी आवागमन बन्द गरिएको हो । इन्द्रसरोवर गाउँपालिका–२ स्थित महालक्ष्मी खोलामा पक्की पुल निर्माण भइरहेको र सडक ढलानसमेत सुरु गरिएकाले सवारी साधन आवतजावत बन्द गरिएको पूर्वाधार विकास कार्यालय, हेटौँडाका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ भित्रै सडक ढलान सम्पन्न गर्नुपर्ने अवस्था छ । सो सडकमा दैनिक सयौँको सङ्ख्यामा सवारी साधन चल्ने हुँदा निर्माण कार्यमा असहजता हुने र जाम परेर यात्रुहरूले सास्ती भोग्नुपर्ने देखिएकाले सडक बन्द गरेरै निर्माण अघि बढाइएको हो । एक महिनासम्म उक्त सडक बन्द रहने भएकाले वैकल्पिक मार्गका रूपमा कुलेखानीस्थित हेभी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक खण्डबाट दुईतर्फी सवारी आवतजावतको व्यवस्था मिलाउन आवश्यक समन्वय तथा सहजीकरणका लागि कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई अनुरोध गरेको छ ।

यस्तै, हेटौँडा–काठमाडौँ जोड्ने अर्को चित्लाङ–थानकोट मार्ग (गणेशमान सिंह मार्ग) पनि सुधार तथा निर्माणका लागि १४ दिन बन्द गरिने भएको छ । उक्त सडक आगामी जेठ १७ गतेदेखि ३० गतेसम्म बन्द रहने छ । सडक डिभिजन काठमाडौँका अनुसार चित्लाङ–थानकोट मार्गको काठमाडौँको पानीघट्टदेखि मकवानपुरको चित्लाङ बजारसम्मको सडक खण्डमा ढलान, कालोपत्रे र टेवा पर्खाल निर्माणलगायतका कार्य गर्न सवारी आवागमन बन्द गर्नुपरेको हो ।

ताजा समाचार

Related Articles