काठमाडौँ, जेठ २४ गते । साफ महिला च्याम्पिनसिपको उपाधि घरेलु टोली भारतले जितेको छ । गोवास्थित पण्डित जवाहरलाल नेहरु स्टेडियममा शनिबार राति भएको फाइनल खेलमा साविक विजेता बङ्गलादेशलाई ३–१ गोलले हराउँदै भारत च्याम्पियन बनेको हो ।

भारतले सात वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो । भारतको जितमा सनफिदा नोङ्गरुम, प्यारी छाछा र लिन्डा कोमले एक एक गोल गर्नुभयो । बङ्गलादेशका लागि रितु पोर्ना चक्माको एक गोल सान्त्वना बन्यो ।

भारतले सेमिफाइनलमा भुटानलाई १–० गोलले पन्छाएर फाइनलमा स्थान बनाएको थियो । यता अघिल्ला दुई संस्करणको विजेता बङ्गलादेश नेपाललाई २–१ गोलले स्तब्ध बनाउँदै फाइनलमा पुगेको थियो ।




