आइसिपी परिसरमै ट्याङ्करसहित इन्धनको तौल गर्न शुरु

लोकप्रिय

वीरगंज, असोज ११ गते ।

भारतबाट इन्धन ढुवानी गर्ने ट्याङ्करबाट इन्धनको तस्करी हुने गरेको रहस्य खुलेसँगै अहिले वीरगंजस्थित एकीकृत सुरक्षा जाँच चौकीमै ट्यांकरसहित इन्धनको तौल गर्न थालिएको छ । 

वीरगंज भन्सार कार्यालय र नेपाल आयल निगमको आपसी समझदारीमा आईसिपी परिसरमा रहेको तौल काँटामा इन्धन सहितको ट्याङ्करको तौल गर्न थालिएको हो । वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिला राम पन्थीले बीरगंज नाका हुँदै  भारतबाट इन्धन ढुवानी गर्ने ट्याङ्करहरूको तथ्याङ्क पनि राख्न थालिएको बताउनु भयो । 

सामान्यतया एउटा ट्याङ्करले २० हजार लिटर इन्धन बोक्ने गरेको र त्यसभन्दा बढी परिमाणमा इन्धन बोकेको पाइए त्यो तस्करी प्रमाणित हुने उहाँले बताउनुभयो । हाल वीरगंज नाकाबाट दैनिक सरदर ८५ ट्याङ्करले भारतको बरौनीबाट पेट्रोल ढुवानी गरेर ल्याउने गरेका छन् । 

डिजेल भने मोतिहारी–अमलेखगन्ज पाइप लाइनबाट सोझै नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा भित्रिने गरेको छ । वीरगंज नाका मुलुककै सर्वाधिक इन्धन भित्रिने नाका हो । वीरगंज भन्सार कार्यालय आईसिपीले सङ्कलन गर्ने कुल राजस्वमा इन्धनको योगदान सबैभन्दा बढी हुने गर्दछ । 

भदौ २९ गते एकीकृत सुरक्षा जाँच चौकी परिसरमै इन्धन तस्करी कार्यमा संलग्न एक ट्यांकरलाई भन्सार अधिकारीहरुले नियन्त्रणमा लिएका थिए । 

भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर आएको घोषणा गरेको ना ४ ख ३१५६ नम्बरको ट्याङ्करबाट भन्सार अधिकारीहरुले घोषित परिमाणभन्दा १ हजार ७ सय ९७ लिटर बढी पेट्रोल बरामद गरेको पन्थीले बताउनुभयो । 

सीमापारि रक्सौलमा भारतीय एकीकृत सुरक्षा जाँच चौकीमा इन्धन बोकेर नेपाल आउने ट्याङ्करहरूको इन्धनको तौल हुने गरेको र नेपाल तर्फ भने इन्धनको जाँच नहुँदा यसको फाइदा बिचौलियाहरूले उठाउँदै आएका थिए ।  

ताजा समाचार

Related Articles