पिकअप गाडी दुर्घटनामा चालकको मृत्यु

लोकप्रिय

मकवानपुर, असार १४ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च. ५५९९ नम्बरको खाली योद्धा पिकअप गाडी आइतबार बिहान अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा चालक मुकुन्द झ्यारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङ स्थायी घर भई हेटौँडा उपमहानगरपालिका–१, चौकीटोल बसोवास गर्दै आएका ४५ वर्षीय मगरलाई उद्धार गरी उपचारका लागि पाटन अस्पताल, ललितपुर पठाइएको थियो।

उपचारका क्रममा स्वास्थ्य परीक्षण तथा इसिजी गर्दा बिहान ८ः५५ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो। मृतकको शव पाटन अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

Related Articles