हेटौँडा, असार २० गते । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले ह्विप जारी गर्ने निर्णय गरेको छ ।
सत्तारुढ दल कांग्रेस संसदीय दलको शनिबार बिहान बसेको बैठकले आगामी आर्थिक वर्ष २०८३÷८४ को विनियोजन विधेयक पक्षमा मतदान गर्न आफ्ना प्रद्ेश सभा सदस्यहरूलाई ह्विप जारी गर्ने निर्णय गरेको हो ।
कांग्रेस मुख्य सचेतक पुकार महर्जनले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन, पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गरेको जानकारी दिनुभयो ।
मुख्य सचेतक महर्जनले २०८३ असार २० गते शनिबार बस्ने प्रदेश सभामा अनिवार्य उपस्थित हुन र तटस्थ नरहन र बागमती प्रदेशका आर्थिक मन्त्रीले प्रदेश सभामा पेस गरेको आव २०८३/०८४ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न निर्देशन (ह्विप) जारी गरेको बताउनुभयो ।’’

प्रदेश सभाका सचिव रामकुमार पौडेलका अनुसार शनिबार नै विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
आगामी आवको बजेटप्रति सत्तारुढ दलभित्रै असन्तुष्टि देखिएको छ ।
कांग्रेसमा बजेटप्रति असन्तुष्टिसँगै छलफलमा कांग्रेसका प्रदेश सभा सदस्यहरु अनुपस्थित रहेका थिए । पूर्व मुख्यमन्त्री बहादुर सिंह लामासहितका प्रदेश सभाका सदस्यहरुले बजेटप्रति असन्तुष्ट बनेपछि सहजीकरणका लागि कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई हेटौँडा बोलाइएको थियो ।
घिमिरेको उपस्थितिमा भएको बैठकमा बजेटमाथि छलफल गर्दै कांग्रेसका सम्पूर्ण प्रदेशसभा सदस्यहरुलाई अनिबार्य उपस्थितिको लागि तीन लाईन ह्विप जारी गरी बजेट पास गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेश सरकारको आगामी आव २०८३/०८४ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३ माथिको सैद्धान्तिक छलफल सम्पन्न भएको छ ।




