हेटौँडा, साउन ७ गते । बागमती प्रदेशको साविक वन तथा वातावरण मन्त्रालयले एक वर्षे अवधिमा ८२ प्रतिशत उपलब्धि हासिल गरेको छ ।

बागमती प्रदेश सरकारको मन्त्रीबाट राजीनामा दिनु पूर्व मन्त्रालयका एक वर्षे कार्यकालका उपलब्धिबारे जानकारी दिन मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदेशका बिना विभागीय मन्त्री भरतबहादुर केसीले सो अवधिमा चालु खर्चतर्फ ७३ प्रतिशत र पुँजीगत खर्चमा ८६ प्रतिशत उपलब्धि हासिल भएको जानकारी दिनुभयो । केसी पछिल्लो पटक भएको मन्त्रीमण्डल पुनर्गठनअघि वन तथा वातावरणमन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो ।
यस अवधिमा प्रदेश वन ऐन र वातावरण संरक्षण संशोधन विधेयक तयार भई प्रदेशसभामा पुगेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयबाट नवप्रवर्तन, अनुसन्धान तथा विशेषन अभियानअन्तर्गत हरेक जिल्लामा एक टिमुर बगैँचा, एक फलफूल वन अभियान, एक किसानः पाँच बोधिचित्त, पाँच रुद्राक्ष अभियानजस्ता कार्यक्रम अघि बढाइएको मन्त्री केसीले बताउनुभयो । जलाधार, वातावरण संरक्षण तथा विपद् न्यूनीकरण कार्यक्रमअन्तर्गत प्रत्येक जिल्लामा एकीकृत जलाधार व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

हरित अर्थतन्त्र, उद्यम तथा रोजगारी कार्यक्रमअन्तर्गत राजमार्ग आसपास हरित उद्यम विकास, नेपालमा पहिलो सन्ध्याकालीन जङ्गल सफारी सञ्चालनमा सहयोगजस्ता कार्यक्रम सञ्चालन गरिएको केसीले बताउनुभयो ।

यस अवधिमा स्थानीय तहसँग संस्थागत सहकार्य विस्तार, वन अपराध नियन्त्रण प्रणाली सुदृढ, हरित प्रदेश अभियान सञ्चालन आदि कार्यक्रम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।



