हेटौँडा, साउन १८ गते । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र बामगठबन्धन दुवैले आ–आफ्नो दावी गरेका छन् ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको आव्हानमा सोमबार प्रदेश सुशासन केन्द्र जाउलाखेल, ललितपुरमा बसेको सर्वदलीय बैठकमा दुवै पक्षले सरकारको दावी गरेका हुन् ।
बैठकमा बागमती प्रदेशमा देखिएको वर्तमान राजनैतिक गतिरोध अन्त्यका लागि आफूलाई समर्थन गर्न वा बहुमत पु¥याउन माग गरेका थिए ।
सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस सरकार अल्पमतमा परेको थियो ।
मुख्यमन्त्री बानियाँले पछिल्लो समय सरकारका बारे अन्यौलता सिर्जना भएकाले आफूलाई नै समर्थन गरेर अघि बढ्न वा यथाशिघ्र बहुमत पु¥याएर नयाँ सरकार गठनका लागि आग्रह गर्नुभयो ।
आफूले विगतदेखिनै नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले बहुमत पुर्याए मार्ग प्रशस्त गर्न तयार रहेको बताउँदै आएको भन्दै मुख्यमन्त्री बानियाँले तर हालसम्म पनि दुई दलले बहुमत पु¥याउन नसकेपछि अस्थिरता चिर्दै निकासका लागि सर्वदलीय बैठक बोलाएको बताउनुभयो ।
बैठकमा बामगठबन्धनसहितका दलहरुले अहिलेको अवस्थाले प्रदेश सरकारलाई अनिर्णयको बन्दी बनाएको चिन्ता व्यक्त गर्नेका थिए । मुख्यमन्त्री बानियाँले दुई दलबाट बहुमत सिद्ध गर्न नसकिरहेको अवस्थामा आफूलाई नै समर्थन गरे चाँडो भन्दा चाँडो विश्वासको मत लिएर प्रदेशमा राजनैतिक स्थिरता दिन दलहरुलाई आग्रह गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले नेकपा एमालेलाई पनि समर्थन फिर्ताबारे पुनर्विचार गरी पुनः समर्थन दिन आग्रह गर्नुभयो ।
उता बामगठन्धनका नेताहरुले मुख्यमन्त्री बानियाँलाई राजीनामा गरेका मार्ग प्रसस्त गर्नु पर्ने बताउनुभएको थियो ।
नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री बानियाँलाई राजीनामा गरेर नयाँ सरकार गठन गर्ने वातावरण बनाउनु वा विश्वासको मत लिनुपर्ने बताउनुभयो ।
यस्तै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले लामो समय अनिर्णयको बन्दी नबनाउन मुख्यमन्त्री बानियाँलाई आग्रह गर्नुभयो ।
बैठकमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा, राप्रपाका नेता उद्धव थापा, नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्रराज गोसाईं, हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्र बज्राचार्य, नेकपाका रत्न ढकाल, नेकपा एमालेका नेता मधुसुदन पौडेलले राजनैतिक अस्थिरता अन्त्यका लागि छिटो टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।




