हेटौँडामा पर्यटन वर्ष लक्षित ‘शून्य फोहोर’ महाअभियान घोषणा

लोकप्रिय

हेटौँडा, साउन २१ गते । हेटौँडा उपमहानगरपालिकाले ‘शून्य फोहोर (जिरो वेस्ट)’ महाअभियानको घोषणा गरेको छ । पर्यटन वर्ष २०८३ लाई लक्षित गर्दै उपमहानगरपालिकाले पहिलो सूचकका रूपमा ‘शून्य फोहोर’ महाअभियान घोषणा गरेको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले ‘जाऔँ हेटौँडा, रमाऔँ हेटौँडा’ नाराका साथ पर्यटन वर्ष २०८३ भव्य रुपमा मनाउने तयारी भइरहेको सन्दर्भमा पहिलो सूचकका रुपमा जिरो वेस्ट महाअभियान अगाडी बढाइएको बताउनुभयो । उहाँले नगरलाई सफा र आकर्षणको केन्द्र बनाउने र पर्यटन वर्षलाई सार्थक बनाउन टोल विकास संस्था नगर समन्वय समितिको सहकार्यमा अभियान वर्षभरि नै सञ्चालन हुने बताउनुभयो । उहाँले अभियानलाई औपचारिकतामा मात्र सीमित नराखी घर, विद्यालय, सरकारी तथा गैरसरकारी कार्यालय र समुदाय स्तरसम्म विस्तार गरिने जानकारीसमेत दिनुभयो ।

अभियानअन्तर्गत घर, विद्यालय र कार्यालयबाट निस्कने फोहोरलाई स्रोतमै कुहिने र नकुहिने गरी छुट्याउने व्यवस्था कडाइका साथ लागू गरिने, पर्यावरणलाई असर पु¥याउने ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइने, सरसफाइलाई जनस्तरमा प्रतिस्पर्धात्मक बनाउन उत्कृष्ट टोल र वडालाई सम्मानित गरिने बताइएको छ । यस्तै विद्यालय तहमा ‘मेरो फोहोर, मेरो दायित्व’ कार्यक्रमसहित बालबालिकामा सरसफाइको संस्कार विकास गर्नेलगायतका कार्यक्रम सञ्चालन गरिने बताइएको छ । यस्तै नगरका व्यवसायीहरूले पसल अगाडि र सार्वजनिक यातायातका साधनहरूले अनिवार्य रूपमा डस्टबिन राख्नुपर्ने नियमसमेत बनाइएको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा मेयर मीनाकुमारी लामाले सरसफाइलाई नागरिकको दैनिकी र संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दीर्घकालीन व्यवस्थापनका लागि हेटौँडाको ढल व्यवस्थापन र पानी प्रशोधन प्रणालीको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको साथै, वडा नम्बर १५, ६ र ७ को सीमाक्षेत्रमा निर्माण हुने ल्यान्डफिल्ड साइटको डीपीआर तयार भई अन्य कामसमेत भइरहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद ओली, १० नम्बर वडाअध्यक्ष फुर्वा दोर्जे लामालगायतको उपस्थिति रहेको थियो । ‘शून्य फोहोर’ महाअभियान कार्यान्वयनका लागि उपमहानगरपालिकाले ३२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।

ताजा समाचार

Related Articles