सुशासन र विकासका लागि काम भइरहेको छ

लोकप्रिय

हेटौँडा, असोज १५ गते ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले प्रदेश सरकारले सुशासन र विकासका क्षेत्रमा इमान्दारितापूर्वक काम गरिरहेको बताउनुभएको छ ।

आज बसेको प्रदेश सभाको बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यहरुले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, “सरकारले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको स्तरोन्नति, चिकित्सकको दरबन्दी थप लगायतका काम गरेको छ ।”

मुख्यमन्त्री जम्कट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको विश्वविद्यालय बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाँले काठमाडौँ–हेटौँडा जोड्ने मातातीर्थ, हुमाने भञ्ज्याङ र कुलेखानी फाखेल सडकको स्तरोन्नति र कालोपत्रेको काम आगामी माघभित्रै पूरा गर्ने गरी काम भइरहेको बताउनुभयो ।

चिकित्सा शिक्षालाई गुणस्तरीय एवम् पारदर्शी ढङ्गबाट सबै विद्यार्थीको पहुँचमा पुर्‍याउने उद्देश्यले हेटौँडामा सुलभ मूल्यमा विद्यार्थीले चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था मिलाउन सरकारले काम गरिरहेको उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षदेखि प्रदेशका १३ वटै जिल्लाका विभिन्न जातिका कृषकलाई अत्याधुनिक कृषिमा आकर्षित गर्न सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।

प्रदेशसभाका अर्को बैठक असोज १६ गते अपराह्न २ बजे बस्ने गरी स्थगित भएको छ ।

ताजा समाचार

Related Articles