समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

लोकप्रिय

काठमाडौँ, असोज १८ गते ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले हत्या आरोपीलाई आममाफी दिइएको, प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक बनाउन नसकिएको, नेपालमा फैलिरहेको साम्प्रदायिक हिंसा लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ । 

बैठकमा सांसदहरुले कर्तव्य ज्यानमा जेल सजाय भोगिरहेका व्यक्तिलाई आममाफी दिइएको विषयमा संसदमा जानकारी गराउन सरकारसँग माग गर्नुभयो ।

सांसदहरुले प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा मुलुकको विकास, अग्रगति र गरिबी हटाउनका लागि बीआरआई कार्यान्वयनमा हात कमाएका कारण स्वर्णिम अवसर गुमाएको दाबी गर्नुभयो । 

सांसदहरुले कानुन बनाउने, जनताको भावना बोल्नु पर्ने, बहस गर्नुपर्ने थलो संसद्लाई एक अर्काको आरोप प्रत्यारोप गर्ने र राजनीतिकको कुण्ठा व्यक्त गर्ने थलो नबनाई जिम्मेवार बन्न सांसदहरूलाई आग्रह गर्नुभयो ।

सांसदहरुले देशको केही भूभागमा धार्मिक र साम्प्रदायिक लडाई शुरु गराएर केही राजनीतिक दल र व्यक्तिहरूले भोटको राजनीति शुरु गरेको भन्दै त्यो कसैका लागि पनि फाइदाजनक नहुने बताउनु भयो । 

सांसदहरुले मधेशका विभिन्न जिल्लामा धार्मिक र साम्प्रदायिक दङ्गा शुरु भएको भन्दै धार्मिक हिंसा अन्त्य गर्न सरकारले समयमा नै ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

सांसदहरुले जनताले सरकारको अनुभूति गर्न नसकिरहेको, सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको, हिमाली जिल्लाका हवाई यातायात प्रभावकारी हुन नसकेको, नागरिकले सुरक्षा पाउन नसकेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

ताजा समाचार

Related Articles