किसानलाई क्षतिपूर्तिको माग

लोकप्रिय

धनगढी, असोज १९ गते । 

औद्योगिकजन्य रसायनका कारण धान र उखु बालीमा क्षति पु¥याएको भन्दै कञ्चनपुर पुनर्वासका स्थानीय किसानले क्षतिपूर्तिको माग गरेका छन् । गएको साउन २४ र २५ गतेको बाढीका कारण डुबान भएको पुनर्वास नगरपालिका–२, ५, ७ र ९ मा धान र उखु नष्ट भएको थियो । 

विगतमा पनि त्यस्तै बाढी आउँदा क्षति नहुने ठाउँमा एकाएक धान र उखु बाली सुकेपछि किसान अचम्मित भएका थिए । २४२.९ बिघामा लगाइएको धान र ११०.३ बिघामा लगाइएको उखु बारीमा बाढीसँगै बगेर आएको बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी) र केमिकल अक्सिजन डिमान्ड (सिओडी) ले क्षति पु¥याएको दाबी किसानको छ । 

पुनर्वास नगरपालिकाले बढीसँगै भागेश्वर सुगर मिलबाट बगेर आएको रसायनका कारण धान र उखु बारी नष्ट भएको कुरा परीक्षणबाट पुष्टि भएको जनाएको छ । नगरपालिका–२ स्थित भागेश्वर सुगर मिल रहेको छ । 

केमिकलका कारण कृषि बाली नष्ट भएको किसानले जिकिर गरे पनि केमिकल कहाँबाट आयो भन्ने कुराको वैज्ञानिक रूपमा पुष्टि हुन सकेको थिएन । यद्यपि विनाशकारी केमिकल भागेश्वर चिनी मिलबाटै किसानको खेतमा बगेर आउँदा बाली सखाप पारेको बताइएको छ । 

प्रदेश सभा सदस्य वीरबहादुर थापाले भागेश्वर चिनी मिलबाट बगेको केमिकलका कारण नै किसानले ठुलो नोक्सान बेहोर्नु परेको गुनासो भन्दै प्रदेश सभामा नै क्षतिपूर्तिको माग गर्नुभएको थियो । उहाँले केमिकलकै कारण कृषि बाली नोक्सान भएको दाबी गर्दै भागेश्वर मिलबाट किसानलाई क्षतिपूर्ति भराउन माग गर्नुभएको छ । 

प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँगको समन्वयमा पुनर्वास नगरपालिकाको कार्यालयले साउन ३० र भदौ १ गते सम्बन्धित ठाउँको खेतबाट पानीको नमुना सङ्कलन गरेको थियो । काठमाडौँस्थित निजी प्रयोगशाला वाटर इन्जिनियरिङमा परीक्षण गर्दा साउन ३० गते सङ्कलित नमुनामा बिओडी ५७ मिलिग्राम प्रतिलिटर र सिओडी ११४ मिलिग्राम प्रतिलिटर पानीमा फेला परेको हो । 

यस्तै भदौ १ गते सङ्कलित नमुनामा बिओडी चार र सिओडी ११ मिलिग्राम प्रतिलिटर पानीमा भेटिएको थियो । पानीमा बिओडी १० मिलिग्राम र सिओडी २० मिलिग्रामभन्दा बढी भएमा बोटबिरुवा र जलीय प्राणी मर्ने गरेको पुनर्वास नगरपालिकाका कृषि शाखा प्रमुख कर्णबहादुर शाहीले बताउनुभयो । 

दोदा नदीको माथिल्लोतिर रहेको सिमरी नदीको बाढी ओभरफ्लो भएर खेतमा जाँदा कृषि बालीमा क्षति भएको जनाइएको छ । “गजबको कुरा त के रह्यो भने डुबान भए पनि मिलभन्दा माथितिर कृषि बालीमा नोक्सान भएन,” शाहीले भन्नुभयो, “मिल र नदीभन्दा तल्लो क्षेत्रमा रहेको भूभागमा मात्रै धान र उखु सुकेको छ ।”

केमिकलका कारण कृषि बाली सोत्तर भएको पुष्टि भएपछि पुनर्वास नगरपालिका विपत् व्यवस्थापन समितिले किसानलाई राहत/क्षतिपूर्ति दिइनुपर्ने निर्णय गरेको छ । नियमानुसार किसानलाई राहत/क्षतिपूर्ति दिनका लागि जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र जिल्ला प्रहरी कार्यालयमा सिफारिस पठाएको विपत् व्यवस्थापन शाखाका स्रोतव्यक्ति ओमनाथ ढकालले जानकारी दिनुभयो ।  

ताजा समाचार

Related Articles