द्रुत मार्गमा पुल निर्माण हुँदै

लोकप्रिय

हेटौँडा, कात्तिक ४ गते ।

काठमाडौँ–तराई/मधेश द्रुत मार्ग सडक आयोजना अन्तर्गत पक्की पुल निर्माणलाई तीव्रता दिइएको छ । यो आयोजना अन्तर्गत प्याकेज नं. १ देखि ७ सम्मका ६२ स्थानमा पुल निर्माण भइरहेका छन् । 

आयोजनाको गत साउन ३० गते स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बमोजिम द्रुत मार्ग सडक आयोजनाको रेखाङ्कनमा जम्मा ८९ स्थानमा पुल निर्माण हुने आयोजनाले जनाएको छ ।

आयोजना अन्तर्गत हाल निर्माणाधीन पुलमध्ये प्याकेज नं. १ देखि ५ मा पर्ने पुल अन्तर्गत जमिनमुनि बनाउनुपर्ने एक हजार ७६८ वटा जगको पिल्लर (फाउन्डेसन पाइल) मध्ये एक हजार ९६ वटा निर्माण कार्य सम्पन्न भएको र पुलको जमिनमाथिको पिल्लरलगायत संरचनाको काम भइरहेको छ । तीन वटा पुलको स्ल्याबलगायतका संरचना निर्माणको कार्यसमेत सम्पन्न भइसकेको छ ।

नेपाली सेनाका सहायक रथी सूचना अधिकारी कृष्णप्रसाद भण्डारीका अनुसार बाँकी २३ वटा पुल निर्माण खरिद प्रक्रियामा रहेको छ । उहाँले खोकना खण्डको प्याकेज नं. ११ अन्तर्गतका चार वटा पुलको खरिद प्रक्रिया बाँकी रहेको जानकारी दिनुभयो । 

आयोजना अन्तर्गत हाल विभिन्न प्रकृतिका गरी १५ मिटरदेखि ४०४ मिटर लम्बाइका पुल निर्माण हुने भएको छ । साथै द्रुत मार्ग खण्डमा ११.८ मिटर चौडाइका जोडी पुल चार लेनको र विभाजित खण्डमा १३.३ मिटरको पुल दोहोरो लेनको रहेका छन् । उहाँले आयोजना अन्तर्गत निर्माण व्यवसायीसँगको सम्झौताबमोजिम हाल निर्माणाधीन पुलहरूको मूल्य अभिवृद्धि करबाहेक कुल लागत ३८ अर्ब ६१ करोड रुपियाँ रहेको बताउँदै अन्य पुल खरिद प्रक्रियामा रहेको बताउनुभयो । 

हालसम्म स्वीकृत विस्तृत आयोजना प्रतिवेदन अनुसार बन्ने पुलको कुल लम्बाइ १६.८ किमी हुने छ । आयोजना अन्तर्गत प्याकेज नं. १ महादेवटारबाट धेद्रेसम्म, प्याकेज नं. २ धेद्रेबाट लेनडाँडासम्म, प्याकेज नं. ७ लेनडाँडाबाट बुदुनेसम्म, प्याकेज नं. ३ राजदमारबाट अँधेरीसम्म, प्याकेज नं. ४ अँधेरीबाट बागदेवसम्म र प्याकेज नं. ५ बागदेवबाट निजगढसम्म हुने गरी डिजाइन गरिएको छ ।  

ताजा समाचार

Related Articles