कारागारका बन्दीलाई पालिकाको सहयोग

लोकप्रिय

हेटौँडा, कात्तिक ४ गते । 

मकवानपुरको दुई गाउँपालिकाले विजया दशमीको उपलक्ष्यमा मकवानपुरको भीमफेदीस्थित कारागारका कैदीबन्दीहरुलाई नगदसहित खसी र खाद्यान्न प्रदान गरेका छन् । मकवानपुरको बकैया गाउँपालिका र राक्सिराङ गाउँपालिकाले दसैँ मनाउन सहज होस् भन्दै नगद, खसी र खाद्यान्न सहयोग गरेका हुन् ।

बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेसहितको टोलीले भीमफेदी कारागार पुगेर दसैँ मनाउन ५० हजार रुपियाँ सहयोग प्रदान गरेको छ । पालिका अध्यक्ष लामिछाने, गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष राजन दङ्गाल, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेसहितको टोली कारागारमा पुगेर कैदीबन्दीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

पालिका अध्यक्ष लामिछानेले कैदीबन्दीहरु विशेष अवस्थाका कारण कारागारमा रहेपनि दसैँ एक आपसमा शुभकामना आदान प्रदान गर्दै खुसीयालीपूर्वक मनाउन सहज होस् भनेर सहयोग प्रदान गरेको जानकारी दिनुभयो ।

यस्तै, मकवानपुरको राक्सिराङ गाउँपालिकाले कारागारका बन्दीहरूलाई खसी र खाद्यान्न प्रदान गरेको छ । पालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष वनस्थम थिङले कैदीबन्दीहरुलाई सांस्कृतिक पर्व दसैँ मनाउन भन्दै ४० केजीको खसी, चामल र चिउरा एक–एक बोरा, तेल एक कार्टुन र मरमसला कारागार पुगेर प्रदान गर्नुभएको हो । अध्यक्ष मल्लले कैदीबन्दीमा सकारात्मक भावना जागृत गराउन खसी र खाद्यान्न उपलब्ध गराइएको बताउनुभयो ।

यसअघि मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले कारागार भीमफेदी पुगेर कैदीबन्दीहरुलाई दसैँ मनाउन दुई वटा खसी, चिउरा र तेल हस्तान्तरण गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles