राष्ट्रपतिद्वारा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रको अवलोकन

लोकप्रिय

बर्लिन (जर्मनी), असार २ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूकाे अवलोकन गर्नुभएको छ । जर्मनीको पोट्सडाम अवस्थित ती संस्थाहरूको राष्ट्रपति पाैडेलले अभिरुचीपूर्वक अवलोकन गर्नुभएको हो ।
अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन उहाहरूलाई आग्रह गर्नुभएको थियो । ”जर्मनी यसमा अत्यन्त चिन्तित छ र यसबारे अनुसन्धान गर्ने महत्वपूर्ण मुलुक पनि हो । तपाईँहरूले अनुसन्धानमा ठूलो प्रगति गर्नुभएको छ। तर अब अनुसन्धानमात्रै होइन समाधानका उपायबारे पनि सुझाव दिनुपर्यो”, राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उहाँका प्रेस सल्लाहाकार किरण पोखरेलले भन्नुभयो-“ नेपालमा जलवायु परिवर्तनको असर देखिसक्यो । हिमालयहरू काला पहाड़मा परिणत भैसके । अब यसको असर विकसित मुलुकहरूमा पनि पर्नेछ र यो पृथ्वीलाई जोगाउने कुरा हो । त्यही भएर तपाईँहरूले मारमा परेका देशले के के गर्नुपर्यो र विकसित देशले के के गर्नुपर्यो भनेर स्पष्टसँग समाधानका उपाय दिन आावश्यक छ ।”
जिएफजेडका साइन्टिफिक कार्यकारी निर्देशक सुजना बाउंटर, पोस्टाडाम इन्स्टिट्यूट फ़र क्लाइमेट इम्प्याक्ट रिसर्च ( पिआईके) का अनुसन्धान समूहका प्रमुख युर्गन पि. क्रप, नेपाली रिसर्च इन्स्टिट्यूट फ़र सस्टेनेवेलेटीका अनुसन्धान समूह लीडर डा. महेश्वर रूपाखेतीलगायतका वैज्ञानिकहरूले विभिन्न विषयमा साे अवसरमा राष्ट्रपति पाैडेललाई जानकारी गराउनुभएकाे थियो ।
राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुग्नुभएको हो । उहाँ प्रथम महिला सविता पौडेलका साथ संघीय गणतन्त्र जर्मनीका राष्ट्र फ्रैङ्क वाल्टर स्टाइनमायरको निमन्त्रणमा औपचारिक भ्रमणका लागि जर्मनी आउनुभएको हो ।

उहाँले जर्मनीको पोट्सडाममा अवस्थित जर्मन रिसर्च सेन्टर फर जिओसाइन्सको अवलोकन गर्नुभयो । यो ठोस पृथ्वी विज्ञानको लागि जर्मनीको राष्ट्रिय अनुसन्धान केन्द्र हो । यसले भू–विज्ञानका उप–प्रणालीहरू, यसको अन्तरक्रिया गर्ने उपचक्रहरू र यसको कारण तथा प्रभाव श्रृखलाहरूको विस्तृत सञ्जालको साथ पृथ्वीको भूगोलजस्ता अत्यधिक जटिल प्रणालीमा ध्यान केन्द्रित गर्ने यहाँका वैज्ञानिकहरूले जानकारी दिएका छन् ।
सन् २०१५ देखि जिएफजेडका वैज्ञानिकहरू नेपालको हिमाली क्षेत्रमा संवेदनशील प्राकृतिक विनाशकारी बाढीको भूकम्पीय अनुगमनमा सक्रिय छन् । त्यस्तै, जिएफजेडसँगको समन्वयमा नेपालको खानी तथा भूगर्भ विभाग र जिइओएस जर्मनीबीच पहिरोसम्बन्धी पूर्व सूचना प्रणालीबारे भएको सम्झौतामा २६ सेप्टेम्बर २०२३ मा हस्ताक्षर भएको थियो ।
यस्तै, राष्ट्रपति पौडेलले अवलोकन गर्नुभएको जर्मनीको पोट्सडाममा अवस्थित अर्को रिसर्च इन्स्टिच्युट फर सस्टेनिविलीटी सन् २००९ मा स्थापना भएको हो । यसले दिगो विकास हासिल गर्न सामाजिक परिवर्तनको प्रक्रिया बुझ्ने, विकास गर्ने र मार्गदर्शन गर्ने लक्ष्यकासाथ अनुसन्धान गर्ने बताइएको छ ।
मे २०१२ देखि प्रो. मार्क लरेन्स ( आरआइएफएसका वैज्ञानिक निर्देशक) को निर्देशनमा डा. महेश्वर रुपाखेतीले योे संस्थामा एक अनुसन्धान समूहको नेतृत्व गर्दै काम गरिरहेको र यो समूहले नेपाललाई केन्द्रित गर्दै दक्षिण एशियामा वायु प्रदुषण र जलवायु परिवर्तनको अध्ययन गरिरहेको बताइएको छ ।
नेपालभित्र र बाहिरका प्रमुख सरोकारवालाहरूसँग मिलेर यो समूहले वायु प्रदुषणको अनुसन्धान, वायुको गुणस्तर, जनस्वास्थ, कृषि, जलवायु र हिमाली पारिस्थितिक प्रणालीमा पर्ने असर र दक्षिण एशियामा विशेषगरी नेपालमा अनुसन्धान र सम्वादको संयोजनमार्फत सम्भावित न्यूनीकरणका उपायहरूमा केन्द्रित रहेको राष्ट्रपति पौडेललाई रुपाखेतीले जानकारी गराउनुभएको थियो ।
राष्ट्रपति पौडेलले अवलोकन गर्नुभएको अर्को सन् १९९२ मा स्थापना भएको इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले विश्वव्यापी स्थिरताको लागि अन्तर क्षेत्रगत जलवायु प्रभाव अनुसन्धानमा वैज्ञानिक सीमालाई अगाडि बढाउने र सुरक्षित तथा न्यायपूर्ण जलवायु भविष्यको लागि ज्ञान र समाधानहरूमा योगदान गर्ने दुईवटा लक्ष्य लिएको पनि अवलोकन भ्रमणका क्रममा जानकारी दिइयो ।
पिआइकेले नेपाललाई साझेदार मुलुक मान्दै परियोजना सञ्चालन गरेको थियो । यसले अहिले फर एचआइएम एसडिजी सञ्चालन गरिरहेको जनाइएको छ ।

ताजा समाचार

Related Articles