हेटौँडा, फागुन २६ गते ।
हेटौँडा भेट्रान्स क्लबको आयोजनामा हेटौँडामाभएको दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाडौँले चुमेको छ । प्रतियोगिताको हेटौँडामा सोमबार सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाडौँलाई ट्राईब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्सले उपाधि हात पारेको हो ।
योसँगै किङकम भेट्रान्सले नगद एक लाख ५० हजार ५५५ रुपियाँको राशिको पुरस्कार र शिल्ड प्राप्त गरेको छ ।
खेलको १४ औँ मिनेटमा फ्रिडम फाईटर भेट्रान्सको तर्फबाट कृष्ण मालाकारले एक गोल गर्दै समूहलाई अग्रता दिलाए पनि खेलको २७ औँ मिनेटमा किङकम भेट्रान्सका खेलाडी जगतमान लामाले गोल गर्दै बराबरीमा बनाउनुभएको थियो । ट्राईब्रेकरमा ३–२ गोल अन्तरमा किङकम भेट्रान्स विजयी भएको हो । दोस्रोभएकको फ्रिडम फाईटर भेट्रान्सले नगद ७५ हजार ५५५ रुपियाँ र शिल्ड प्राप्त गरेको प्रतियोगिताका प्रतियोगिता संयोजक मणिराज गौतमले बताउनुभयो ।
प्रतियोगितामा सर्वश्रेष्ठ कोच किङकम भेट्रान्सका राजकुमार पन्त सव, उत्कृष्ट फरवाड सरोज थापा, उत्कृष्ट गोलकिपर अमित प्रधान, उत्कृष्ट डिफेन्स सञ्जय राना मगर र उत्कृष्ट मिडफिल्डर घोषित भई जनही पाँच हजार नगद र ट्रफी प्राप्त गर्नुभयो ।
यस्तै प्रतियोगिताको सर्वउत्कृष्ट खेलाडी फ्रिडम फाईटरका तेन्जिङ लामा घोषित भई नगद दस हजार रुपियाँसँगै ट्रफी प्राप्त गर्न सफल हुनुभएको थियो । विजयी तथा उपविजयी टिम र खेलाडीहरुलाई हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगिता यही फागुन २२ गतेदेखि सुरु भएको हो ।