सामाजिक सुरक्षा कोषमा १९७ जना श्रमिक आबद्ध

लोकप्रिय

हेटौँडा, फागनु २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिकामा अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकको संख्या बढेको छ ।
गत आर्थिक वर्षबाट सुरुभएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा चालु आर्थिक वर्षमा आबद्ध हुने श्रमिकको संख्या १९७ जना पुगेको छ ।
भीमफेदी गाउँपालिकाले सोमबार आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा कोषमा आबद्धतासम्बन्धी कार्यक्रम गत आवमा ९८ जना कोषमा आबद्ध भएकामध्ये ८७ जनाले नियमित रकम जम्मा गरेको र यस आवमा थप ९९ जना श्रमिक कोषमा आबद्ध रहेको जानकारी गराइएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहको सरकारबिच समन्वय सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले सामाजिक सुरक्षा कोषमा आबद्धताले अनौपचारिक क्षेत्रका श्रमिकहरूको जीवनमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठले पालिकाले योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई निरन्तरता दिएको भन्दै गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि २५ लाख रुपियाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
भीमफेदी गाउँपालिकामा गत आर्थिक वर्षमा ९८ जनाले कोषमा आवद्ध भई ८७ जनाले नियमित रकम जम्मा गरेको र यस वर्ष थप ९९ जना श्रमिक आवद्ध भएसँगै जम्मा १९७ जना श्रमिकहरु कोषमा आबद्ध भएका छन् ।
अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत अर्थात् एक १९० रुपियाँ श्रमिकबाट र ९.३७ प्रतिशत अर्थात् एक हजार १४ रुपैयाँ गाउँपालिकाबाट गरी कुल दुई हजार २०४ रुपियाँ मासिक रूपमा कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ । यस योजनामा आवद्ध भएपछि श्रमिकहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा, वृद्ध अवस्था सुरक्षालगायतका विभिन्न योजनामा सहभागिता जनाउन सक्नेछन् ।
यस कार्यक्रममार्फत अनौपचारिक क्षेत्रका श्रमिकहरूको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्त रूप दिन र संवैधानिक हकको सुनिश्चितता गर्ने उद्देश्य राखिएको छ । भीमफेदी गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा योजनामा सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्ने नेपालकै दोस्रो र बागमती प्रदेशकै पहिलो गाउँपालिका हो ।

ताजा समाचार

Related Articles