हेटौँडा, फागुन २८ गते ।
मकवानपुरको मनहरी गाउँपालिकाले लामो समय शिक्षण पेशमा आवद्ध भई अवकास हुन चाहने शिक्षकलाई लक्षित गरी शिक्षक स्वर्णिम अवकास कार्यक्रम ल्याएको छ ।
लामो समयदेखि शिक्षण पेशामा आवद्ध रही शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउने हुने शिक्षकहरुको योगदानको सम्मान गर्न भन्दै पालिकाले चालु आर्थिक वर्षममा शिक्षक स्वर्णिम अवकास कार्यक्रम ल्याएको हो ।
शिक्षक स्वर्णिम अवकास कार्यक्रममा सहभागी हुने शिक्षक÷कर्मचारीले दुई लाख पचासहजार रुपियाँसम्म प्रोत्साहन रकम पाउने छन् ।
गाउँपालिकाका शिक्षा अधिकृत प्रदीप पराजुलीका अनुसार शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउने हुने शिक्षकहरुको योगदानको
उच्च कदर गर्दै सम्मान गर्नका लागि शिक्षक स्वर्णिम अवकास योजना कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ उक्त योजना ल्याइएको हो ।
उहाँले स्वर्णिम अवकास कार्यक्रम कार्यान्वयन सहजीकरण समितिको सोमबार बसेको बैठक निर्णय अनुसार सुविधा प्राप्त गर्न ईच्छुक वा स्वर्णिम अवकास योजनामा समावेश हुन चाहने मनहरी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आगामी चैत ४ गतेभित्र आवेदन दिनुपर्ने बताउनुभयो ।
शिक्षक स्वर्णिम अवकास योजना कार्यक्रम अन्तर्गत स्थायी सेवा अवधि २०८३ बैशाखदेखि २०८३ चैत्र मसान्तसम्म अनिवार्य अवकाश हुनेलाई एकमुष्ट एक लाख रुपियाँ प्रदान गरिनेभएको छ ।
उहाँका अनुसार २०८४ बैशाख देखि २०८५ चैत्र मसान्तसम्म अनिवार्य अवकास हुनेको हकमा एक लाखमा थप प्रतिमहिना पाँचहजारका दरले थप गरी अनिवार्य अवकाश हुन आउने
अवधिको लागि एकमुष्ट रकम प्रदान गरिने छ ।
यस्तै २०८६ वैशाख देखिपछि जुनसुकै समयमा अनिवार्य अवकास हुनेको हकमा दुई लाख पचासहजार मात्र प्रोत्साहन रकम प्रदान गरिने उहाँले बताउनुभयो ।
शिक्षक स्वर्णिम अवकास योजना कार्यक्रम सहभागी हुन चाहनेले नागरिकताको प्रतिलिपि, स्थायी नियुक्ति तथा बढुवा नियुक्तिपत्रको प्रतिलिपि, अनिवार्य अवकास मिति खुल्ने कागजातहरु, सम्पुर्ण शैक्षिक योग्यताको कागजातका प्रतिलिपिहरु र कार्यरत विद्यालयले सेवा प्रमाणित गरेको पत्रसहित निवेदन दिनुपर्छ अधिकृत पराजुलीले भन्नुभयो, प्राप्त निवेदन अनुसार अवकाश मिति अगाडी हुने निवेदकलाइ पहिलो प्राथमिकता प्रदान गरिनेछ ।
साथै स्थायी बाहेकको शिक्षक कर्मचारीको हकमा कम्तिमा ५० वर्ष उमेर पूरा भइ २० वर्ष सम्वधित क्षेत्रमा गाउँपालिका भित्र अविछिन्न सेवा गरेको भए कार्यविधि वमोजिम अवकास योजनामा समावेश गरिने गाउँपालिकाले जनाएको छ ।