हेटौँडा, चैत १ गते ।
बागमती प्रदेश विश्वविद्यालयले बागमती प्रदेशभित्र सञ्चालनमा रहेका क्याम्पसहरूलाई आङ्गिक क्याम्पसको रूपमा समायोजन हुन आवेदन माग गरेको छ ।
बागमती प्रदेशभित्र सञ्चालनमा रहेका नेपालका कुनै विश्वविद्यालयबाट सम्बन्धन लिएका क्याम्पसहरूलाई बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुन आवेदन माग गरिएको हो ।
विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुन आवेदन दिने क्याम्पसले मातृ विश्वविद्यालयसँगको सम्बन्धन अन्त्य गर्नेसम्बन्धी क्याम्पस सञ्चालक समितिको निर्णयसहित आवेदन दिनुपर्ने जानकारी दिनुभयो ।
बागमती प्रदेश उच्च शिक्षा ऐन, २०७८ को दफा ९(३) र (४), प्रदेश उच्च शिक्षा नियमावली, २०७९ को नियम १७ तथा बागमती प्रदेश विश्वविद्यालयको विधान, २०६१ को दफा ३६ बमोजिमप्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा सञ्चालनगर्न चाहेमा एक महिनाभित्र विश्वविद्यालय संरक्षक समितिको सचिवालय, हेटौँडामा निवेदन दर्ता गराउनु पर्ने विश्वविद्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
समायोजन हुन ईच्छुक क्याम्पसको वर्तमान अवस्था, सञ्चालित कार्यक्रम, सोअनुसार विद्यार्थी सङ्ख्या, शिक्षक कर्मचारीको तहगत (स्थायी, अस्थायी र करार) विवरण, उनीहरूको पारिश्रमिक विवरण, शिक्षण शुल्क विवरण, क्याम्पसको आर्थिक, भौतिक सम्पत्ति, आर्थिक दायित्व समेत खुल्ने प्रोफाइल, क्याम्पस स्थापना/सम्बन्धन स्वीकृतिपत्रहरू, क्याम्पसको स्वीकृत विधान र क्याम्पसको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन समावेस गर्नु पर्ने छ ।
साथै क्याम्पसमा सञ्चालन हुन सक्ने र चाहेको शैक्षिक कार्यक्रमको सम्भाव्यता अध्ययन प्रतिवेदन सहित निवेदन दिनु पर्छ ।
आवेदनहरू प्राप्त भएपछि छानविन गरी सम्बन्धित क्याम्पसमा सञ्चालनमा हुनसक्ने शैक्षिक कार्यक्रमहरूको औचित्य सम्भाव्यता र विश्वविद्यालयको व्यवस्थापकीय पक्षसमेतलाई ध्यान दिँदै विश्वविद्यालयले क्रमशः आङ्गिक क्याम्पसको रूपमा ग्रहण गर्ने गरी बागमती प्रदेश उच्च शिक्षा ऐन, २०७८. उच्च शिक्षा नियमावली, २०७९ एवं विश्वविद्यालयको विधान २०८१ बमोजिम प्रक्रिया अगाडि बढाइने उपाध्यष सुवेदीले बताउनुभयो ।
विश्वविद्यालयले आगामी भदौबाट अध्यापनगर्ने गरी तयारी गरिहेको छ ।