कञ्चनपुर । तराई–मधेशका जिल्लाहरूमा होली पर्व धूमधामका साथ मनाइएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलाली जिल्लामा बसोबास गर्ने रानाथारु समुदायले भने एक महिना आठ दिनसम्म आफ्नै मौलिक परम्पराअनुसार होली अर्थात् होरी पर्व मनाउने गर्दछन् ।
यो समुदायका लागि होरी वर्षभरिका सबैभन्दा महत्त्वपूर्ण र ठुलो पर्व हो । नेपाल रानाथारु समाज कञ्चनपुरका उपाध्यक्ष मनोहर रानाका अनुसार, रानाथारु समुदायले माघ शुक्ल पूर्णिमाको दिनमा होरी राख्ने, फागुन पूर्णिमामा जलाउने, त्यसको भोलिपल्ट टीका लगाउने र आठौँ दिन खख्डेहरा पर्व मनाउने परम्परा रहिआएको छ ।
रानाथारु समुदायमा होरीको रौनक अहिले उत्कर्षमा पुगेको छ । ढोलक अर्थात् डङ्का सहितका बाजागाजा बजाउँदै होरी गीत गाएर सामूहिक रूपमा नाच्ने गरिन्छ । कतिपय स्थानमा डोला (पिङ) समेत खेल्ने प्रचलन छ । फागुन पूर्णिमामा जलाइएको होरीको खरानीको टीका लगाउने परम्परा छ । त्यसपछि आठ दिनसम्म मौलिक ढङ्गमा होरी खेलिन्छ । विशेष गरी रङ्गसहितको होरी आज मात्रै खेलिन्छ भने भोलिदेखि बाजागाजा र गीतसङ्गीतका साथ रङ्गविहीन होरी खेल्ने गरिन्छ ।
कञ्चनपुरको गोकुलपुरस्थित रानाथारु समुदायका गुरुवा सङ्ग्राम रानाका अनुसार, होरी पर्वलाई दुई चरणमा मनाइन्छ । पहिलो चरणमा ३० दिनसम्म रातको समयमा खेलिने होरीलाई ‘जिउँदो होरी’ भनिन्छ भने दोस्रो चरणमा आजदेखि आठ दिनसम्म दिनभर खेलिने होरीलाई ‘मरेको होरी’ भनिन्छ । यो आठ दिनसम्म मनाइने पर्व खख्डेहरा पर्वसँग जोडिएको छ । खख्डेहरा फोडेपछि साँझ होरी खेली पुरुषहरूको होरी समापन हुन्छ । तर महिलाहरूले चैतकी चराइँ पर्व मनाएर मात्रै होरी सम्पन्न गर्ने चलन छ ।
रानाथारु समुदायको पहिचान र इतिहास बोकेको होरी पर्वले आपसी मेलमिलाप, भाइचारा र समाजमा सद्भाव बढाउने विश्वास गरिन्छ । तर, समय क्रमसँगै यसको रौनक केही कम हुँदै गएको देखिन्छ । रानाथारु समुदायका अग्रजहरूका अनुसार, नयाँ पुस्ताले पुरानो पुस्ताबाट सिक्दै यो मौलिक संस्कृतिलाई जोगाउनु आवश्यक छ । रानाथारु समुदायको होरी पर्व सांस्कृतिक धरोहर मात्र नभई सामाजिक एकता र सांस्कृतिक पहिचानको प्रतीक पनि हो ।