सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको ‘स्प्रिङ’ सिजन २०२५ को आरोहण समय नजिकिँदै गर्दा आरोहण मार्ग निर्माणका लागि आईसफल डाक्टरहरूको टोली आधारशिविर प्रस्थान गरेको छ । सगरमाथा आरोहणको सिजन शुरु हुन लाग्दा सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेबाट आइसफल डाक्टर सहितको टोली बाटो निर्माणका लागि गएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) नाम्चेकी सूचना अधिकारी याङ्जीडोमा शेर्पाले जानकारी दिनुभयो ।
टोलीमा आधारशिविर व्यवस्थापक छिरिङ तेन्जिङ शेर्पा तथा आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले नेतृत्व गर्नु भएको दुईवटा टोलीमा आठ जना ‘आइसफल डाक्टर’ रहेका छन् । टोलीमा दावानुरु शेर्पा, निमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दावाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पा छन् ।
हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डाक्टर भन्ने गरिन्छ । यसवर्ष आङसर्की शेर्पाको नेतृत्वमा बाटो बन्न लागेको हो । सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले समितिलाई खुम्बु आइसफलको आरोहण मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ ।
यस क्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहण गर्ने पर्वतारोहीहरूको लागि सुरक्षित बाटो निर्माण गरिन्छ । हरेक बर्ष हिउँ परेर बिग्रिएको पुरानो बाटो पहिल्याउँदै आइसफल डाक्टरहरूले आल्मुनियमका भर्याङ जोडेर सगरमाथाको चुचुरोसम्म पुग्ने नयाँ बाटो निर्माण गर्नेछन् । आइसफलदेखि क्याम्प–२ सम्म खर्पसमा हिउँ जम्मा भएको बाटो सफा गर्ने, डोरी टाँग्ने र भर्याङ राख्ने काम गरेपछि मात्र आरोही सगरमाथाको चुचुरोसम्म पुग्न सक्छन् ।
पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरबाट छ हजार ४०० मिटरसम्म उचाइको क्याम्प दुईसम्म दर्जनौँ सानाठूला हिमखाल्डा रहेका छन् । क्याम्प दुईभन्दा तल धेरै खाल्डा भएकाले बाटो बनाउने धेरै काम त्यहाँ गर्नुपर्छ । क्याम्प दुईमाथि हिमखाल्डा खासै छैनन् । क्याम्प दुईभन्दा माथिका लागि बाटो खोल्ने तथा डोरी बाँध्ने काम आरोहण टोलीका प्राविधिकहरूले गर्छन् ।
पदमार्ग निर्माण कार्य निकै जोखिमपूर्ण हुने भएकाले आधार शिविरमा बौद्ध धर्म परम्पराअनुसार लामाबाट पूजापाठ गरी शुरु काम शुरु गर्ने परम्परा रहेको छ । प्रत्येक बर्ष ‘अक्टोबर’ र ‘स्प्रिङ’ दुवै सिजनमा यही परम्पराअनुसार काम शुरु गरिन्छ । बाटो बनाउने क्रममा कुनै विपत आई नलागोस्, सकुशल फर्कन पाऊँ, भगवानले रक्षा गरुन् र हिमाल आरोहण गर्ने आरोहीहरूमा कुनै पनि दुर्घटना नभई यात्रा सफल होस् भन्ने उद्देश्यले पूजा गरेर बाटो निर्माण थाल्ने गरिन्छ ।
यस क्षेत्रमा बाटो बनाउने काम तालिम प्राप्त आइसफल डाक्टरहरूले मात्र गर्ने भएकाले अन्य श्रमिकहरूको खासै काम नहुने बताइन्छ । वर्षौँदेखि आइसफल डाक्टरको रुपमा काम गर्ने शेर्पाहरू ज्यान जोखिममा राखेर बाटो बनाउने गर्दछन् । हिमाल आरोहण गर्ने बाटो, हिउँ र बरफ खनेर डोरीको सहायताबाट निर्माण गर्नुपर्ने भएकाले ज्यान माया मारेर बनाउनुपर्ने आइसफल डाक्टरहरू बताउँछन् । हिमपहिरो चलेमा बनाएको बाटो बिगार्ने भएकाले एकै स्थानमा पटक पटक बाटो बनाउनु पर्दछ ।