सुनसरी- सुनसरीको धरानमा हालसालै उदाएको श्रम संस्कृति पार्कले नयाँ पर्यटकीय गन्तव्यको रूपमा लोकप्रियता कमाइरहेको छ । धरानका नगरप्रमुख हर्क साम्पाङको नेतृत्वमा श्रमदान अभियानमार्फत निर्माण गरिएको यो पार्क पर्यटकहरूका लागि प्रमुख आकर्षण बन्न पुगेको छ ।
पहिले सुनसान र उराठलाग्दो देखिने सर्दु खोलाको बगर अहिले रंगीन र जीवन्त पार्कमा रूपान्तरण भएको छ । विभिन्न जातजातिका फलफूलका बिरुवा, कलात्मक मूर्तिहरू, अनि शान्तपूर्ण वातावरणमा बग्ने पानीको फाउन्टेनले पार्कलाई झनै मनमोहक बनाएको छ ।
धरानभित्रका मात्रै होइन, धनकुटा, इटहरी, मोरङ लगायतका स्थानबाट दैनिक सयौं आगन्तुकहरू पार्कको सौन्दर्य अवलोकन गर्न आउँछन् । यसले स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्दै नगरपालिकालाई आर्थिक रूपमा समेत बलियो बनाएको छ ।
पार्कको निर्माणमा धरानबासीको योगदान अविस्मरणीय छ । पार्क कर्मचारी प्रदीप राईका अनुसार, श्रमदान अभियानमा सहभागी समूहहरूले विभिन्न आकर्षणहरू निर्माण गरेका छन् ।
पार्कमा एसडिएस रक गार्डेन: सचेत धराने समूहद्वारा निर्मित छ भने एसएनएस चौतारी: स्वतन्त्र नागरिक समूहले निर्माण गरेका छन् त्यस्तै एसडिबी रोज गार्डेन: स्वतन्त्र दिदीबहिनी समूहको प्रयासमा निर्माण भएको छ ।