भदौबाट प्रदेशका १३ वटा अस्पतालमा शय्या निःशुल्क

लोकप्रिय

हेटौँडा, साउन २९ गते । बागमती प्रदेश सरकारले प्रदेश सरकार मातहतका  अस्पतालहरुमा सामान्य शय्याहरू निःशुल्क गर्ने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले आगामी भदौ १ गतेबाट १३ वटा अस्पतालमा रहेका सामान्य शय्याहरू निःशुल्क रूपमा उपलब्ध गराउने भएको हो । 

प्रदेशका स्वास्थ्य मन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट अस्पतालमा उपलब्ध शय्यामध्ये क्याबिन, एआईसीयू र आइसियु बाहेक शय्या निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय भएको मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिनुभयो । उहाँले मन्त्रालयको निर्णय अनुसार निःशुल्क शय्या उपलब्ध गराउन अस्पतालहरूलाई पत्रसहित निर्देशन गरिएको उहाँले बताउनुभयो । 

उहाँले गोरखापत्रलाई भन्नुभयो, यो निर्णयसँगै १३ वटा जिल्ला अस्पतालबाट नागरिकले ८११ वटा शय्याबाट निःशुल्क सेवा पाउनेछन् । यस्तै प्रदेश मातहतको १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट पुनर्स्थापना र फिजियोथेरापी सेवा निःशुल्क रूपमा उपलब्ध हुने भएको छ । प्रदेशभित्रका सबै सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरूमा सामाजिक सेवा एकाइ अनिवार्य रूपमा स्थापना गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको छ । उक्त निर्णयअनुसार सामाजिक सेवा एकाइ स्थापना गरी असहाय, अपाङ्ग (वर्ग क र ख), विपन्न, बेवारिसे बिरामीहरूको उपचार व्यवस्थित गर्ने निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको छ । 

स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य सेवामाथिको नागरिकको पहुँच वृद्धि गर्न प्रदेश सरकारले अस्पतालको शय्या निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले सरकारले निःशुल्क गरेको सेवाहरू लिनलाई नागरिकलाई आग्रह गर्नुभएको छ । –गोरखापत्रबाट

ताजा समाचार

Related Articles