गुल्मी- गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा यतिखेर लालीगुराँस फुलेर रमणीय बनेको छ । लालीगुराँस फुल्ने मौसम सुरु भएसँगै घुम्न आउने पर्यटकहरुको चहलपहल पनि बढ्ने गर्दछ ।
रेसुङ्गा क्षेत्रको वनैभरी राताम्य फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने पर्यटकको चहलपहल बढने गरेको हो । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल रेसुङ्गामा गुराँस फुलेसँगै चहलपहल बढ्दछ ।
रेसुङ्गा क्षेत्रमा फागुन, चैत, बैशाख महीनासम्म गुराँस फुल्ने गर्दछ । धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको रेसुङ्गामा लालीगुराँसका कारण पनि निकै प्रख्यात मानिन्छ । रेसुङ्गा क्षेत्रमा धार्मिकसँगै लाली गुराँसले पनि निकै रमणिय बनेको त्यहाँ पुग्नेहरु बताउछन् ।
रेसुङ्गामा लाली गुराँसका कारण दैनिकजसो आन्तिरक र बाह्य पर्यटकको संख्या बृद्धि हुँदै जान थालेको छ । त्यहाँ बिभिन्न थरिका लालीगुराँस फूलेकाले अहिलेको मौसम निकै रमणीय बन्ने गरेको हो ।
रेसुङ्गा क्षेत्रमा भौगोलिक उचाइगत विविधताले ठूलो घना जंगल रहेको छ । यस क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा, नागबेली सहित १ सय ६१ प्रजातिका जडीबुटिहरु रहेको तथ्याङ्कमा उल्लेख छ ।
त्यस क्षेत्रमा ठूला र सुक्न लागेका लालीगुराँसका बोटहरु पनि भएकाले संरक्षणको अभाव खड्कीन थालेको छ । भएका बोटहरु सुक्दै जाँदै गर्नु र नयाँ बोटहरु बारे चासो नदिनुले पनि लालीगुराँसमा संरक्षणको अभाव देखिएको हो ।