हेटौँडा, चैत ४ गते ।
मकवानपुरमा विभिन्न स्थानका चुन ढुंगा खानीहरुबाट चुन ढुंगा राजमार्ग हुँदै ओसारपसार अनियमित रुपमा गर्ने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरोकारवालासँग छलफल गरेको छ ।
राजमार्गमा सवारी क्षमता भन्दा बढी ओसारपसार गर्ने र जोखिमपूर्ण तरिकाले ढुवानी गर्ने गरेको पाईपछि खानी तथा टिप्पर व्यवसायीहरुसँग आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।
सवारी मापदण्ड विपरीत क्षमताभन्दा बढी र खुला रुपमा चुनढुंगा व्यवसायीले ढुवानी गर्दै आएको ट्राफिक नियम उल्लंघन गरी राजमार्गमा ढुवानी गर्दा समेत प्रहरी प्रशासन मौन बस्ने गरेको आरोप लाग्दै आएको छ ।
मकवानपुर जिल्ला अन्तर्गत रहेका विभिन्न ढुंगा खानीहरुबाट राजमार्ग हुँदै सिमेन्ट उद्योगसम्म ढुंगा एंव कच्चा पदार्थ ढुवानी गर्ने क्रममा सवारी क्षमताभन्दा बढी ओसारपसार गर्ने तथा जोखिमूुर्ण तरिकाले ढुवानी गर्ने गरेको जनगुनासो आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको अग्रसरतामा सुरक्षित रुपमा ढुवानी गर्न छलफल गरिएको मकवानपुुरका प्रहरी उपरीक्षक विश्व राज खड्काले जानकारी दिनुभयो ।
टिप्पर व्यवसायी तथा चालकहरु समेतको उपस्थितिमा भएको छलफलमा ढुंगा खानीहरुबाट सिमेन्ट फ्याक्ट्रीसम्म ढुंगा एंव कच्चा पदार्थ ढुवानी गर्दा ट्राफिक नियमको पालना गरी सुरक्षित तरिकाले ढुवानी गर्न आग्रह गरिएको थियो ।
छलफलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक. केशव अधिकारी, ढुवानी र निर्माण कम्पनीका संचालक कृष्ण कार्की, सुमन विष्ट, नवराज खतिवडा, उदय बिडारीलगायतको सहभागिता रहेको थियो ।