हेटौँडा, चैत ५ गते ।
हरित नगरीको पहिचान बनाएको हेटौँडा नगरको मौलिकता चित्रकला मार्फत पनि उजागर गरिनेभएको छ ।
हेटौँडा उपमहानगरपालिकाले नगरको मुख्य बजारमा चित्रकलामार्फत नगरभित्रका पर्यटकीय गन्तव्य स्थलको प्रबद्र्धन र पहिचान दिलाउन नगर क्षेत्रमा रहेका पर्खालमा चित्रकला कोर्न थालेको हो ।
उपमहानगरले पहिलो चरणमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटोैँडा उपमहानगरपालिका १० सडक किनारमा रहेको नेपाल ट्रष्टको पर्खालमा उपमहानगरक्षेत्रभित्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यको पहिचान चित्रकला मार्फत गराउन कलाकारलाई चित्रकला कोर्न लगाएको छ ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाले पाएको सुन्दर नगरको पहिचानलाई अझ विस्तार गर्ने अभियान अन्तर्गत नगरभित्र खाली रहेका पर्खालामा चित्रकला कोर्ने अभियानको सुरुवात गरिएको जानकारी दिनुभयो ।
पर्खालमा झल्कदै गरेको कलाको अवलोकनसहित सुधारको लागि सुझाब दिनुहुँदै उपमहानगरका नगरप्रमुख लामाले पहिलो चरणमा ट्रष्टको पर्खालको १७ सय स्क्वायर फिट क्षेत्रफल चित्रकला कोरिने बताउनुभयो । नगरभित्रका १५ वटा पर्यटकीय स्थल चित्र कलाकारले बनाउने छन् उहाँले भन्नुभयो, नेपाल ट्रष्टसँगै नगर क्षेत्रका अन्य स्थानमा पनि क्रमश पर्यटकीय स्थलहरु चित्रकलामार्फत उतार्ने र पर्यटकीय गन्तव्य बनाउने योजनामा छौँ ।
नगरका विभिन्न वडामा रहेका गन्तव्यस्थललाई चित्र मार्फत पर्खालमा उतार्ने काम उपमहानगरले गरेको हो । चित्रकलाको कामका लागि उपमहानगरले चार लाख ६८ हजार ३५३ रुपियाँ खर्चने भएको छ ।