हेटौँडा, चैत ५ गते ।
मकवानपुर जिल्लाका चार वटा क्याम्पसमा आज मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।
त्रिभुवन विश्वविद्यालयका जिल्लामा रहेका आंगिक र सम्बन्धन प्राप्त गरी सात वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने तयभएको थियो ।
दुई वटा क्याम्पसमा यसअघि नै स्ववियु नेतृत्व सर्वसम्मत् चयन भईसकेको छ ।
पालुङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको तालाबन्दीपछि स्थगित भएो छ ।
मतदाता नामावलीमा नाम थप गरेको र केही विद्यार्थीलाई छात्रवृत्तिको आश्वासन दिएर उम्मेदवार बनाएको भन्दै आपत्ति जनाउँदै आएको नेविसंघले आफ्ना माग संवोधन नगरी निर्वाचन गर्न लागेको भन्दै क्याम्पस प्रशासन कक्षमा तालाबन्दी गरेको हो ।
स्ववियुमा गठबन्धन गरेको नेविसंघ र अनेरास्ववियुले सोमबार एक पक्षीय रुपमा निर्वाच गरेमा बहिष्कार गर्ने चेतावनीसहित विज्ञप्ति जारी गरेको थियो ।
नेविसंघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार रोशनी गोपाली र अनेरास्ववियुका सचिवका उम्मेदवार आयाम नापितले संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामा माग गर्नुभएको थियो ।
उता क्याम्पस प्रमुख राजन मिश्रले निर्वाचन स्थगित भएको बताउनुभयो । उहाँले केही अवरोध गरिएको भन्दै राजनीतिक दलहरुसँग छलफल गरी निकास दिने बताउनुभयो ।
मकवानपुर बहमुखी क्याम्पस, हेटौँडा क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसमा मतदान भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले चार वटा क्याम्पसमा शान्ति सुरक्षाको व्यवस्था मिलाइएको र मतदान भईरहेको जानकारी दिनुभयो ।
अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल समाजवादी विप्लबलगायतका विद्यार्थी संगठनहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
क्याम्पसमा विद्यार्थी संगठनहरुले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।