हेटौँडा, चैत ५ गते । प्रहरीले अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नं १
घर भई हाल काठमाडौँ गोकर्णेश्वर ननगरपालिका वडा नं.२ बस्ने फुच्चे भन्ने कुसाङ लामालाई २५ करोड रुपियाँभन्दा बढी विदेशी मुद्रासहित पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसनधान कार्यालय काठमाडौँले जनाएको छ । ४३ वर्षीय लामालाई अमेरीकी डलर, युरोलगायतका मुद्राहरु र सवारी साधनसहित पक्राउ गरिएको हो ।
विभिन्न व्यक्तिहरुले ठुलो परिमाणमा अमेरीकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहरु राजश्व छली गरी अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सोमबार राति ११ बजेको समयमा काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नं.२ झोरमा ना. ७ ख १६५२ नं.को मालबाहक ट्रक गाडी शंका लागि सवारी साधन नियन्त्रणमा लिई खानतलासी गरेको थियो । खानतलासी गर्दा उक्त ट्रकको “वोनट” चालक बस्ने कोठाको ( क्याविनको बायाँ तर्फको) माथिल्लो भागमा फल्सबटम बनाई लुकाई छिपाई ल्याएको अमेरीकी डलर, युरोलगायतका मुद्राहरु फेला पारी सवारी चालक लामासहित सवारी साधन पक्राउ गरिएको थियो ।
साथै निजले अवैध तरीकाबाट भन्सार तथा राजस्व छलि अवैध विदेशी मुद्राको कारोवार गरेको हुदाँ निजलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाईएको छ ।
निज लामा २०७३ साल पुस १३ गते राजश्व छली सुन चोरी पैठारी मुद्दामा सात के.जी. सुनसहित पक्राउ परी पाँच वर्ष कैद भुक्तान गरेको प्रहरीको भनाई छ ।
प्रहरीले निजको साथबाट अमेरीकी डलर एक सय दरका नोटहरु जम्मा थान तीन हजार ११९, ५० दरका नोटहरु जम्मा थान १७९, युरो पाँच सय दरका थान ११, दुई दरका थान ४८०, एक सय दरका थान चार हजार १४८ र ५० दरका थान १७ हजार १७७ बरामद गरिएको छ । प्रहरीका अनुसार नेपाली रुपियाँमा हुन आउने रकम२५ करोड १९ लाख २४ हजार ९५० रुपियाँ रहेको छ ।
यस्तै प्रहरीले नारायणी प्रदेश–७ ख १६५२ को मालबाहक ट्रक र दुई थान मोवाईलसमेत बरामद गरेको छ ।