हेटौँडा, चैत ५ गते ।
आगलागीबाट मकवानपुरको मकवानपुगढी गाउँपालिका २ बासपानीमा कृष्ण बहादुर दर्लामी मगरको घर जलेर पूर्णरुपमा क्षति पुगेको छ । मंगलबार बिहान आगलागी हुँदा १० लाख रुपियाँभन्दा बढीको क्षतिभएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मगरको जस्ताको छाना भएको ढुङ्गा माटोले बनेको दुई तल्ले कच्ची घरमा खोले पकाउन बालेको आगोबाट सल्केर घरमा आगलागी भएको थियो ।
बिहान ९ः३० बजेको समयमा लागेको आगलागी प्रहरी र स्थानियको सहयोगमा १०ः४५ बजेको समयमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
आगलागीबाट घर जलेर पूर्ण रुपमा क्षति हुँदा घरमा रहेको धान १५ मुरी, चामल एक बोरा, आलु चार बोरा, लत्ताकपडा र भाडावर्तनका साथै सुनको तिलहरी, सुनको झुम्का, सुनको हातको बाला, बच्चाको कल्ली बाला गरी पाँच तोला सुनसहित १० लाख २५ हजार मूल्य बराबरको क्षति भएको घर धनीको भनाई छ ।