हेटौँडा, चैत २० गते ।
बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले प्रदेश सरकारले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरी प्रदेश सरकारले प्रदेश सभालाई छल्ने काम गरेको आरोप लगाएका छन् ।
विपक्षी दलहरुले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णयप्रति विरोधसमेत जनाएका छन् ।
प्रदेश सरकारले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेर कार्यपालिका र व्यवस्थापिका बिचको दुरी बढाउने दिशामा सरकार उन्मुख रहेको विपक्षी दलहरुको निस्कर्ष रहेको छ ।
प्रदेश सभाममा प्रतिनिधित्व गर्ने विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले बुधबार प्रदेश सभा सचिवालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकार गैरजिम्मेवार ढङ्गबाट प्रस्तुत भएको विपक्षी दलहरुले आरोप लगाएका हुन् ।
साथै विपक्षी दलहरुले विगतमा भएका सहमाति र प्रतिबद्धता सरकारले कार्यान्वयन नगरेको प्रति आपत्ति जनाएका हुन् ।
मंगलबार दिउँसोका लागि बोलाइएको बैठक बस्न नसकेपछि सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बोलाइएको थियो । मंगलबार बसेको सर्वदलीय बैठकमा विपक्षी दलका बजेटसम्बन्धी माग संवोधन गर्ने सरकारको प्रतिबद्धतापछि बसेको कार्यव्यवस्था समितिको बैठकमा बुधबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने सहमतिभएको थियो ।
विपक्षी दलहरुले चालु आर्थिक वर्षको बजेट असन्तुलनभएको भन्दै प्रदेश सभाका सदस्यहरुको माग संवोधन हुनुपर्ने माग गर्दै आएका छन् ।
पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले आफूहरुको विषय बजेटको मात्र नभएर सहकारी मन्त्रीको स्वकीय सचिवको आत्महत्या प्रकरण, गत असोजको दोस्रो साता आएको बाढीपहिरोपछिको राहत र पुनसर््थापनालगायतका विषयमा रहेको बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा संसदीय दलका उपनेता गिरबहादुर तामाङले सरकारले प्रदेश सभालाई छलेर काम गर्ने प्रयास गरेको बताउनुभयो । नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले मन्त्री र सत्तापक्षकै प्रदेश सभाका सदस्यबिच बजेटका विषयमा विवाद रहेकोले बुधबारको बैठक बस्न नसकेको आरोप लगाउनुभयो ।
उता राप्रपाका प्रदेश सभाका सदस्य कुमारी तामाङले पत्रकार सम्मेलनमा सर्वदलीय बैठकमा दलहरुबिच कुनै सहमति नभएको जिकिर गर्नुभएको थियो ।
विपक्षी दलद्वारा पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा यस आर्थिक वर्षको बजेट पारित हुनु अधि प्रदेश सरकार र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरु बिच भएको सहमति, गत असोजको अविरल वर्षापछि राहात उद्धार र पुनर्निर्माणसँग सम्बन्धित सम्झौता समेतलाई कार्यान्यवन गर्न सत्ता घट्ककै नेतृत्वमा बनेको सर्वदलीय कार्यदलले गत पुसमा मुख्यमन्त्री समक्ष बुझाएको प्रतिवेदन कार्यान्वयन नगरिएको जनाइएको छ ।
माओवादी केन्द्रका रत्नप्रसाद ढकाल, राप्रपाका गिरबहादुर तामाङ र एकीकृत समाजवादीका लक्ष्मण लम्सालद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन अन्त्य गर्ने निर्णयले सरकारको दम्भ, घमण्ड र निरंकुश शैली उदाङ्गिएको उल्लेख छ ।
विपक्षी दलहरुले सरकारलाई गैरजिम्मेवार बन्न छोडेर वार्ता र सहमति मार्फत अगाडि बढ्न विज्ञप्तिमार्फत माग गरेका छन् ।