खासकुरा संवाददाता
हेटौँडा, वैशाख १० गते ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको परिसारमा नवनिर्मित महिला व्यारेक भवनको उद्घाटन गरिएको छ । 
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय, हेटौँडाद्वारा विनियोजित बजेटबाट निर्माण गरिएको महिला ब्यारेक भवनको बुधबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले उद्घाटन गर्नुभएको हो । सो अवसरमा मन्त्री लामिछानेले प्रदेश सरकारले प्रहरीको क्षमता अभिवृद्धिसँगै भौतिक संरचना निर्माणमा सहयोग गर्दै आएको बताउनुभयो ।
उक्त कार्यक्रममा हेटौँडा उप–महानगरपालिकाका प्रमुख मीना कुमारी लामा, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
सो अवसरमा प्रहरी वरिष्ठ हवल्दार ज्ञान बहादुर राई र प्रहरी हवल्दार असर्फिलाल साहलाई प्रशंसा पत्र सहित नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
उक्त महिला व्यारेक भवन बागती प्रदेश सरकारको सहयोगमा मूल्य अभिवृद्धि कर सहित एक करोड ९१ लाख नौ हजार ४२ रुपियाँको लागतमा निर्माण गर्ने गरी २०८० साल असोज ८ गते निर्माण कम्पनीसँग सम्झौता भएकोमा केही डिजाइनहरु थपघट भएकोले परिमार्जित सम्झौता रकम एक करोड ९५ लाख ७३ हजार १४१ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हो । 
तीन तले सो महिला व्यारेकको भवनको भुईँ तल्लामा ब्यारेक दुई, सभाहल एक र शौचालय/स्नान गृह दुई, पहिलो तल्लामा शौचालय र स्नानगृहको सुविधासहित महिला ब्यारेक दुई वटा र दोस्रो तल्लामा महिला ब्यारेक एक वटा, शौचालय/स्नान गृहसहित महिला व्यारेक एक वटा, शौचालय र स्नान गृह दुई वटा व्यवस्थापन गरिएको छ ।




