खासकुरा संवाददाता
हेटौँडा, वैशाख १० गते ।
मकवानपुरको बकैया गाउँपालिका र दक्षिण कोरियाको बुय–गुन पालिकाबिच भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव गरिएको छ ।
बकैया गाउँपालिका र बुय–गुन पालिकाबिच भगिनी सम्बन्ध कायम गर्न कोरियन कल्चर सेन्टरमार्फत प्रस्ताव गरिएको हो ।
बकैया गाउँपालिकाका अध्यक्षलगायतका पदाधिकारी र कोरियन कल्चर सेन्टरका प्रतिनिधि मुन यङ सुसहितको प्रतिनिधिहरुसँग बकैया गाउँपालिकामा बुधबार छलफलसहित दुई पालिकाबिच भगिनी सम्बन्ध राख्न प्रस्ताव गर्ने निर्णय गरिएको छ ।
बकैया गाउँपालिका र बुय–गुन पालिकाबिच बकैया गाउँपालिकालाई कृषि, पर्यटन, शिक्षा र प्रविधि हस्तान्तरणको क्षेत्रमा सहयोग गर्ने गरी भगिनी सम्बन्ध कायम गरिनेभएको छ । सो अवसरमा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले कोरियन कल्चर सेन्टरका अध्यक्ष मुन यङ सुलाई भगिनी सम्बन्ध कायम गर्न सहजीकरणका लागि अनुरोध गर्ने निर्णयसमेत गरिएको छ । बकैया गाउँपालिका र बुय–गुन पालिकाबिच भगिनी सम्बन्ध कायम गर्न सहजीकरण गरिदिन सो अवसरमा बकैया गाउँपालिकाका अध्यक्ष लामिछानेले कोरियन कल्चर सेन्टरका प्रतिनिधि अनुरोधपत्र हस्तान्तरण गर्नुभएको थियो ।
छलफल कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री, किम नाम सिक, उद्योगी अरुणराज सुमार्गी, बकैया गाउँपालिका वडा नं. १० का वडाध्यक्ष कमला वाइवा, निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन दुलाललगायतको उपस्थिति रहेको थियो ।




