हत्या अभियोगमा मकवानपुरका तीन जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २२ गते ।
धादिङ गजुरी गाउँपालिका वडा नं. २ डुडेठाँटीमा भएको एक व्यक्तिको हत्या घटनामा मकवनापुरको एकै पालिका तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।
गजुरी गाउँपालिका वडा नं. २ डुडेठाँटी बस्ने करिब वर्ष ६० का चुडामणि कँडेलको हत्या अभियागमा मकवानपुरको राक्सिराङ गाउँपालिकाका तीन जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, धादिङले सार्वजनिक गरेको हो ।
कँडेल आफ्नै दुई तले घरको भुँईतलाको कोठा भित्र रहेको एटेच बाथरुम भित्रको भुँईमा घाँटीमा डोरी कसिएको अवस्थामा मृत फेला परेपछि प्रहरी अनुसन्धान थालेको थियो । गत चैत २७ गते २१ः५५ बजेको समयमा कँडेलको शव भेटिएको परेको थियो ।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. ९ घर भई धादिङ गजुरी गाउँपालिका वडा नं. २ डुडेठाटी बस्ने वर्ष ३६ को अक्कलबहादुर प्रजा, राक्सिराङ गाउँपालिका वडा नं. ९ कै वर्ष २५ का पृथ लाल थिङ र वर्ष २७ को सञ्चलाल मुक्तान रहेका छन् । प्रहरीका अनुसार प्रजालाई वैशाख ३ गते गजुरी गाउँपालिका वडा नं. २ डुडेठाँटीबाट, थिङ र मुक्तानलाई मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ मनहरीबाट यही वैशाख १६ गते पक्राउ गरिएको हो ।
जिल्ला अस्पताल धादिङबाट चिकित्सक र बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट कुकुरसहितको प्राविधिक प्रहरी कर्मचारीसमेत टोलीले अनुसन्धान गरी उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
प्रहरीले मृतकको घाँटीमा कसेको डोरी, घटनामा प्रयोग भएको कोदालो, अभियुक्त अक्कल बहादुर प्रजाको कोठाबाट एक लाख, मृतकको फोन फुटाएर फालेको स्थानबाट प्राप्त फुटेको रेडमी मोवाइल फोनको टुक्राहरु बरामद गरेको छ ।
प्रहरीका अनुसार तीन जनालाई ज्यान सम्बन्धी कसूरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

ताजा समाचार

Related Articles