खासकुरा संवाददाता
हेटौँडा, वैशाख २४ गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १७ गैरीगाउँमा गत शुक्रबार जमिनमा भासिएर हराएको बलेरो गाडी अझै पनि फेला पर्न सकेको छैन ।
गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना ४ च४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी अचानक चिप्लिन गई शुक्रबार दिउँसोबाट जमिनमा भासिएपछि बेपत्ताभएको हो ।
भित्री कच्ची सडकखण्डमा सडक नजिकै माछापालनको लागि बोरिङ खनेको पानीसहितको खाल्डोमा बलेरो गाडी डुबेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जमिनमा भासिएर बेपत्ताभएको गाडीको अवस्थाका बारेमा भूगर्भविद्ले मंगलबारबाट अध्ययन थालेका छन् ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् नारायण अधिकारीसहितको टोलीले मंगलबार घटनास्थल पुगेर घटना स्थल आसपासको क्षेत्रको अवस्थाको बारेमा अध्ययन थालेका हुन् । मंगलबार झण्डै १० घण्टा अध्ययन गरेको सो टोलीले आज बुधबार पुनः खोजी गर्ने भएको छ ।
भूगर्भविद्भू नारायण अधिकारीे गाडी बेपत्ता भएको सम्भाव्य क्षेत्रको पहिचानभएको जानकारी दिनुभएको छ । गाडी भासिएको क्षेत्रमा दलदलभएकोले फेला पर्न नसकेको उहाँको भनाई छ ।
बेपत्ता गाडी तीन दिनसम्म फेला नपरेपछि घटनास्थल पुग्नुभएका हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले यसअघि भूगर्भविद् बोलाएर खोजी कार्य गरिने बताउनुभएको थियो ।
गाडी भासिएको नजिकै बोरिङ गरिएकोले उक्त घटना भएको अनुमान छ ।
गाडी भासिएको पाँच सेकेण्डमा नै बेपत्ता भएको थियो भने गाडी भासिएसँगै सडकमै दह बनेको थियो ।
पानी कटान गरेर गाडी खोजी कार्य गरिएपनि अझै फेला परेको छैन । बलेरो चालक र सहचालक भने भासिनुअघि नै निस्किएर सकुशल रहेका छन् ।
गाडी भासिएको नजिकै माछापालन गरिएको पोखरी र स्थानीयले बोरिङ समेत गरेका कारण जमिन भासिन पुगेको जनाइएको छ ।




