खासकुरा संवाददाता
हेटौँडा, वैशाख २८ गते ।
आफू गृहमन्त्रीको साथी भएको भनी विभिन्न कार्यालयका कर्मचारीहरुलाई धाक, धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु, काठमाडौँले टेलिफोन मार्फत गाली गलौच तथा डरत्रास धाक, धम्की दिई दैनिक काम काजमा समेत बाधा अवरोध गरेको अभियोगमा राजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. ३ का ५० वर्षीय श्रेष्ठलाई बनेपा नगरपालिका वडा नं. ८ तिनदोबाटोबाट पक्राउ गरिएको हो ।
निज श्रेष्ठलाई पक्राउ गरी मुलुकी अपराध संहिताको परिच्छेद २ को दफा ८५ बमोजिम राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा बिरोध गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाईएको प्रहरीले जनाएको छ ।




