काठमाडौँ, साउन १४ गते । सुनसरीको देवानगञ्जमा भएको दुःखद् घटनाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहद्वारा आह्वान गरिएको उक्त बैठकमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई पक्षबिच भएको झडप, त्यसक्रममा एक जनाको भएको मृत्यु र त्यसपछि उत्पन्न परिस्थितिबारे विस्तृत समीक्षा भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

बैठकमा आगामी दिनमा यस्ता अवाञ्छित घटना हुन नदिन सबै सुरक्षा निकाय तथा सरोकारवाला निकायबिच समन्वय गर्ने निर्णय भएको छ। यसैगरी बैठकमा देशका विभिन्न भागमा हुनसक्ने विपद् प्रतिकार्यको पूर्वतयारी तथा व्यवस्थापनका विषयमा समेत छलफल भएको छ। बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा यही साउन १० गते सुनसरीमा भएको घटनाको समीक्षा गर्दै राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको परिषद्का तर्फबाट ब्रिफिङ गरिएको थियो ।

बैठकपछि परिषद्ले जारी गरेको विज्ञप्तिमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने उल्लेख छ । साथै विपद्का घटनामा खोज, उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीच समन्वय सुदृढ बनाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल सरकारका मुख्य सचिव गोविन्द कार्की र प्रधान सेनापति अशोक सिग्देलको उपस्थिति थियो ।




