काठमाडौँ, साउन १४ गते । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको विभिन्न स्थानमा पछिल्ला केही दिनदेखि देखिएको तनावपूर्ण घटनाक्रमले चिन्तित तुल्याएको उल्लेख गर्दै शान्ति, सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल गर्नुभएको छ । नेता आङ्देम्बेले आज एक विज्ञप्तिमार्फत सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जदेखि फैलिएको तनाव सिरहाको गोलबजार, धनुषाको जनकपुर हुँदै पर्साको वीरगञ्जसम्मै फैलिएको र यसबीचमा तीन नागरिकले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

“नेपाल विविध धर्म, भाषा, संस्कृति र समुदायको साझा फूलबारी हो । यही विविधताबीचको एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो”, उहाँले भन्नुभएको छ, “हामीले सदियौँदेखि एकअर्काको धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आएका छौँ । आपसी भाइचारा, बन्धुत्व र सामाजिक सद्भाव कायम राखेका छौँ । यसलाई कुनै पनि हालतमा कमजोर हुन दिनु हुँदैन ।”

नेता आङ्देम्बेले धर्म र पूजा गर्ने तौरतरिका, संस्कृति र परम्परा फरक भए पनि मानवता सबैभन्दा ठूलो धर्म भएको बताउँदै हरेक धर्मले प्रेम, करुणा, सहिष्णुता, क्षमा र शान्तिको सन्देश दिने उल्लेख गर्नुभएको छ ।




