खासकुरा संवाददाता
हेटौँडा, वैशाख ३० गते ।
बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौँडा आयोजित तीन दिने प्रदेश युवा सम्मेलन २०८२ मंगलबार सकिएको छ ।
तीन तहका सरकारहरूबीच समन्वय गरी युवा परियोजना बैंक स्थापना गर्नुपर्ने लगायतका १० बुँदे घोषणापत्र सम्मेलनले जारी गर्दै सम्पन्नभएको हो ।
परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौंलागाईले प्रदेशको नीति निर्माण, नवप्रवर्तन र उद्यमशिलतामा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा घोषणापत्रमा जोड दिइएको जानकारी दिनुभयो ।
उक्त घोषणापत्र सम्मेलनको समापनमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई बुझाइएको छ ।
मंगलबारनै भएको मुख्यमन्त्रीसँग युवा संवाद कार्यक्रममा मुख्यमन्त्री लामाले उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित अधिकांश अधिकार संघीय सरकारसँग रहेकाले प्रदेश सरकारलाई औद्योगिक लगानीको क्षेत्रमा काम गर्न समस्याभएको बताउनुभयो ।
सम्मेलनमा कृषिमा नवप्रवर्तन र यूवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवा संलग्नता लगायतका विषयमा विज्ञहरुसँग छलफल गरिएको थियो ।
सम्मेलनको समापनको दिन सम्पदा यात्रा कार्यक्रम अन्तर्गत मकवानपुरको ऐतिहासिक सुरुङमार्ग, चुरियामाई मन्दिर र त्रिवेणी धाम अवलोकन गराइएको थियो !




